धनगढी । कैलाली बहुमुखी क्याम्पसमा संसदीय वहस प्रणलीमा आधारित नमुना संसद अभ्यास कार्यक्रम आयोजना गरिएको छ ।
के.एम.सी डिबेट क्लबको आयोजनामा कानून संकायमा अध्ययनरत र अन्य गरी ६२ जना विद्यार्थीहरुको सहभागितामा संसदिय प्रणाली, विधेयक प्रस्तुत, छलफल र कानून निर्माण प्रक्रिया बारे जानकारी गराउने उद्धेश्यले विद्यार्थीहरुबिच नमुना संसदीय अभ्यास कार्यक्रम आयोजना गरिएको केएमसी डिबेट क्लबका संयोजक गणेश खत्रीले बताउनुभयो ।
यस्तै स्वतन्त्र विद्यार्थी युनियन केएमसीका अध्यक्ष यमराज जोशीले संसद र सांसदको भुमिकाबारे सबैले जान्न जरुरी रहेको बताउनुभएको छ । संसदिय अभ्यास कानून निर्माण प्रक्रिया मात्र नभएर सामान्य क्लबका मिटिङहरु सञ्चालन र व्यवस्थापनबारे सिकाउने अभ्यास पनि भएको उहाँको भनाई छ । विद्यार्थी युनियनले निर्वाचित भएसकेपछि विद्यार्थी राजनितिप्रतिको नकारात्मक दृष्टिकोण चिर्न सफल भएको उहाँको भनाई छ ।
“विद्यार्थीहरुको क्षमता अधिवृद्धिको लागि समयासापेक्ष सिप सिकाउनुपर्छ भनेर हामीले देशभरमा अरुभन्दा फरक कार्यक्रमहरु सञ्चालन गर्न खोजिरहेका छौँ”, उहाँले भन्नुभयो, “विद्यार्थी नेता भन्दा क्याम्पसमा तालाबन्दी गर्ने, तोडफोड मात्र गर्ने छवि थियो तर कैलाली बहुमुखी क्याम्पसमा हामीले सञ्चालन गरेका अभियानहरुले विद्यार्थी राजनिति चाहिँदो रहेछ भन्ने भावनाको विकास भएको हामीले पाएका छौँ” । विद्यार्थीहरुले आयोजना गर्ने रचनात्मक क्रियाक्लापहरुमा साथ दिन आफु सँधै तयार रहेको उहाँले वताउनुभयो ।
त्यसैगरी क्याम्पस प्रमुख प्राध्यापक तोयराज भट्टले कानूनी अज्ञानता क्षम्य नहुने भएकाले देशको कानून र कानून निर्माण प्रक्रिया बारे जान्नु अत्यन्त महत्वपूर्ण रहेको वताउनुभएको छ। यस्ता कार्यक्रमले प्रत्येक विद्यार्थीलाई इमान्दार, लगनशील र जवाफदेही बन्न प्रोत्साहन गर्ने उहाँको भनाई छ ।
मंगलबार आज विद्यार्थीहरुलाई सैद्धान्तिक प्रशिक्षण दिईएको हो । बुधबार प्रत्यक्ष सत्तापक्ष र प्रतिपक्षको भुमिकामा अभ्यास गराईने क्लबका संयोजक खत्रीले बताउनुभएको छ ।