धनगढी । ग्यालेक्सी मल्टिपल कलेज धनगढीले आयोजना गरेको विजनेस क्विज सम्पन्न भएको छ ।
शनिबार कलेजमा आयोजना गरिएको माध्यमिक विद्यालय स्तरीय हाजिरीजवाफ प्रतियोगितामा धनगढीका ७ ओटा विद्यालयको सहभागिता रहेको थियो ।
जसमध्ये १६ अंक सहित ग्यालेक्सी माध्यमिक विद्यालय प्रथम भएको छ । त्यस्तै १२ अंक सहित नास्ट माध्यमिक विद्यालय दोस्रो र ११ अंक सहित ऐश्वर्य विद्या निकेतन तेस्रो भएका छन् । प्रतिस्पर्धामा सुदुरपश्चिमाञ्चल एकेडेमीले ९ अंक, धनगढी नमुना माध्यमिक विद्यालयले ८, एलायन्स माध्यमिक विद्यालयले ७ र त्रिनगर माध्यमिक विद्यालयले ६ अंक प्राप्त गरे ।
धनगढी उपमहानगरपालिकाका कक्षा ११ र १२ मा व्यवस्थापन संकायमा अध्ययनरत विद्यार्थीहरुलाई लक्षित गरि उक्त प्रतियोगिता आयोजना गरिएको क्याम्पसका अनुसन्धान व्यवस्थापक दिनेस पौडेलले बताउनुभयो । वित्त, अर्थशास्त्र र व्यवसाय सम्बन्धि सैद्धान्तिक अवधारणहरुलाई विद्यार्थीहरुले मौलिक तरिकाले भन्न र लेख्न सक्ने बानीको विकास गर्न र व्यवहारिक रुपमा लागु गर्न सिकाउने उद्धेश्यले उक्त प्रतियोगिता आयोजना गरिएको उहाँको भनाई छ । जसलाई विद्यार्थीहरुले उनिहरुको व्यवसायिक जीवनमा पनि लागु गर्न सक्ने छन ।
त्यसैगरी क्याम्पस प्रमुख जयदत्त भट्टले यस्ता खालका क्रियाकलापले विद्यार्थीहरुको व्यवहारिक क्षमता बढाउनुका साथै, बोर्ड परिक्षामा समेत सघाउने वताउनुभयो ।
विद्यार्थीहरुलाई सिपसंग जोड्ने र पढाईसंगै आयआर्जन गरि आत्मनिर्भर बनाउने र्काक्रम र योजनाहरु कलेजले निर्माण गरेकाले आगामी दिनमा यसलाई व्यापक रुपमा विस्तार गर्दै जाने उहाँले बताउनुयो ।
प्रतियोगितामा प्रथम हुने समुहलाई नगद रु ७ हजार, द्वितीय पुरस्कार रु ५ हजार र तृतिय पुरस्कार रु ३ हजार कायम गरिएको छ । पुरस्कार भने पर्सी ७ गते ग्यालेक्सी माध्यमिक विद्यालयको वार्षिकोत्सव कार्यक्रममा वितरण गरिने छ ।
उक्त प्रतियोगिताबाट आफुले पढेका विषयवस्तुलाई व्यवहारमा लागु गरि सक्षम बन्नुपर्ने कुरा सिक्न पाएको र यस्ता कार्यक्रमलाई निरन्तरता दिन सहभागि विद्यार्थीहरुको प्रतिक्रिया छ ।
त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त ग्यालेक्सी मल्टिपल कलेजले चालु शैक्षिक सत्रदेखि स्नातक तहमा नयाँ पठनपाठन सञ्चालन गरेको हो । हाल यस कलेजमा व्यवस्थापन संकाय अन्तर्गत बि.बि.एस कार्यक्रम पढाई भईरहेको छ। र विद्यार्थीहरुलाई गुणस्तरीय जनशक्तिको रुपमा उत्पादन गर्ने मुख्य लक्ष्य सहित विद्यार्थीकेन्द्रित भएर प्रत्येक महिना शैक्षिक, व्यवसायिक एवं औद्योगिक क्षेत्रको भ्रमण गराउने, सेमिनार, कार्यशाला, र बैङ्किङ तथा लोकसेवा र आईएल्स कक्षाहरु सञ्चालन गर्ने कलेजको कार्ययोजनामा उल्लेख छ । त्यस्तै जुनसुकै विद्यालयबाट आउने ३.४ जिपिए भन्दा माथि नतिजा भएका विद्यार्थीलाई मासिक शुल्कमा पूर्ण छुट गर्ने पनि क्याम्पस प्रमुख भट्टले घोषणा गर्नुभयो ।