“आरम्भ ल फेस्ट” सफलतापुर्वक सम्पन्न, तीन विधामा प्रथम सहित एक्सिस विद्याश्रमले जित्यो उपाधि

प्रमुख अतिथिद्धारा स्नातक तहमा कानुन संकाय अध्ययन गर्ने विद्यार्थीहरुका लागि प्रवेश परिक्षा तयारी गर्न ओम प्रकाश वस्तीले लेख्नुभएको “ईन्ट्रान्स एमिकस” पुस्तकको भर्चुअल विमोचन पनि गरिएको छ ।

धनगढी । गत विहिबार देखि धनगढीमा सञ्चालन भएको “आरम्भ ल फेस्ट” सफलतापुर्वक सम्पन्न भएको छ ।

कानुनी शिक्षा अभिवृद्धि गर्ने उद्धेश्यले आरम्भ कानुनी शिक्षा केन्द्र धनगढी र नयाँ युवा नयाँ सोच सेवा समाज नेपालको आयोजना तथा आन्तरिक मामिला तथा कानुन मन्त्रालय सुदुरपश्चिमको प्रवद्र्धन र ड्रिमलिङ्क एजुकेशन धनगढी शाखाको मुख्य प्रायोजनमा माध्यमिक तहमा कानुन विषय अध्ययनरत विद्यार्थीहरुबिच विभिन्न पाँचवटा विधाहरु, पहिलो दिन कानुनी कविता र कानुनी मस्यौदा लेखन, दोस्रो दिन कानुनी हाजिरीजवाफ र सिर्जनात्मक लेखन तथा तेस्रो र चौथो दिन संसदिय वहस प्रतियोगिता आयोजना गरिएको हो । जसमा हाजिरीजवाफ, सिर्जनात्मक लेखन र संसदिय वहसमा प्रथम स्थान हाँसिल गर्दैै ६० अंक सहित एक्सिस विद्याश्रमले उपाधि हात पारेको छ ।

त्यसैगरी कानुनी कविता र कानुनी मस्यौदा लेखनमा प्रथम स्थान हाँसिल गर्दै ४५ अंक सहित सुदुरपश्चिमाञ्चल एकेडेमी (एस.पि.ए) उपविजेता बन्यो । त्यस्तै त्रिनगर माध्यमिक विद्यालय हाजिरी जवाफमा द्धितीय स्थान हाँसिल गर्दै ४० अंक सहित तेस्रो र २० अंक सहित धनगढी नमुना मा.वि.ले सान्त्वना स्थान प्राप्त गरे । सहभागी सबैलाई प्रमाणपत्र तथा विजेता, उपविजेता सहित विभिन्न स्थान प्राप्त टिमलाई सिल्ड, मेडल र प्रमाणपत्र प्रदान गरिएको छ ।

समापन कार्यक्रममा सुदुरपश्चिम प्रदेशका मुख्य न्यायधिवक्ता ठेकेन्द्र राज जोशी प्रमुख अतिथि हुनुहुन्थ्यो । उहाँले विद्यार्थीहरुलाई कानुन पढ्नुको आफ्नो उद्धश्यबारे स्पष्ट र त्यसप्रति दृढ हुन सुझाउनुभयो ।

“हाम्रो सिर्जनशीलतामा प्रश्न होईन, त्यस अनुसारको अवसर नभएको मात्रै हो” कार्यक्रममा बोल्दै उहाँले भन्नुभयो, “ हामीमा कानुन केका लागि पढ्ने भनेर माईन्ड मेकअप हुनैपर्छ त्यसले हामीलाई क्षेत्र पहिचान गर्न सहज हुन्छ ।”


कानुन व्यवसायीमा पनि राज्यको लगानी आवश्यक रहेको उहाँले बताउनुभयो । त्यस्तै व्यवसायिक सिप प्रवद्र्धन गर्न यस्ता कार्यक्रमले महत्व राख्ने भएकाले सबै कलेजहरुले व्यवहारिक लेखनका यस्ता कार्यक्रम आयोजना गर्नुपर्नेमा उहाँले जोड दिनुभयो ।

नयाँ युवा नयाँ सोच सेवा समाज नेपालका केन्द्रिय अध्यक्ष मुकुन्ददीप मडैले सिर्जनात्मक ज्ञान निर्माणका लागि परम्परागत भन्दा फरक तरिकाले यथार्थपरक विषयवस्तुमा प्रतिस्पर्धा गराउने आफुहरुले प्रयास गरिरहेको बताउनुभयो ।

त्यसैगरी आरम्भ कानुनी शिक्षा केन्द्रका संस्थापक, अध्यापक एवं प्रशिक्षक विनोद खत्रीले विद्यार्थीहरुको व्यवहारिक पक्षलाई प्रबलिकरण एवं सुधार गर्ने उद्धेश्यले काम गरिरहेको बताउनुभयो ।

“जहिले पनि एउटा समस्या मैले महशुस गरिरहेको छु, काठमाण्डौँ र सुदुरपश्चिममा पढाई हुने पठ्यक्रम एउटै हो र अध्यापकहरु पनि दक्ष नै हुनुहुन्छ तर सुदुरपश्चिमबाट जाने विद्यार्थीहरुलाई न्यायिक क्षेत्र र थप अध्ययनका लागि स्नातक तहमै पनि गह्रो हुनुको कारण यस्तै अवसरहरुको कमी हो” उहाँले भन्नुभयो, “यहाँका विद्यार्थीहरुले पनि व्यवहारिक शिक्षामा अलि बढि जोड दिने हो भने पिछडिएको कोटामा होईन प्रतिस्पर्धी भएर नाम निकाल्न योग्य बन्न सक्नुहुन्छ, त्यसका लागि हामी सबै सरोकारवालाहरुले आफ्नो दायित्व निभाउनै पर्छ ।”

यस्तै कार्यक्रमका सभापति एवं आरम्भ कानुनी शिक्षा केन्द्र धनगढीका संयोजक ओम प्रकाश वस्तीले विद्यार्थीहरुले सिक्नै पर्ने व्यवहारिक कुराहरु सिकाउने यात्राको यो प्रारम्भ भएको र आगामी दिनमा पनि यस्ता सिर्जनात्मक कार्यक्रमहरु सक्रियताका साथ आयोजना गर्ने हौसला मिलेको बताउनुभयो । कार्यक्रममा प्रमुख अतिथिद्धारा स्नातक तहमा कानुन संकाय अध्ययन गर्ने विद्यार्थीहरुका लागि प्रवेश परिक्षा तयारी गर्न ओम प्रकाश वस्तीले लेख्नुभएको “ईन्ट्रान्स एमिकस” पुस्तकको भर्चुअल विमोचन पनि गरिएको छ ।

 

 

 

 

 

 

Leave A Reply

Your email address will not be published.