धनगढी । कैलाली बहुमुखी क्याम्पसको वार्षिकोत्सवको अवसरमा आयोजना गरिएको नृत्य र गायन प्रतियोगिता सम्पन्न भएको छ।
उक्त अवसरमा प्रदान गरिने गायन तर्फको “केएमसी सिङ्गिङ स्टार” को उपाधि दिपिका धानुक (शुभलक्ष्मी) ले जित्नुभएको छ । त्यसैगरी नृत्य विधातर्फ “केएमसी डान्स स्टार” को उपाधि प्राप्ति भट्टले जित्नुभएको छ ।
शुक्रबार आयोजित एक औपचारिक कार्यक्रमकाबिच प्रतिस्पर्धामार्फत उक्त विधाका विजेताहरुको घोषणा गरिएको हो । विजेता दुबै कैलाली बहुमुखी क्याम्पसमा कानून संकायमा अध्ययनरत छात्रा हुन् । दिपिका धानुक चौथो सेमेस्टर र प्राप्ति भट्ट प्रथम सेमेस्टरमा अध्ययनरत हुनुहुन्छ ।
दिपिकाले जुनीजुनी एल्बमको गायिका सञ्जीवनीले गाउनुभएको,
डाँडा पाखा छहराले तिम्रै गीत गाउँछ,
छाति भित्र मुटु पनि तिमिलाई बोलाउँछ…
गीत प्रस्तुत गनुभएको थियो भने प्राप्तिले शिव तान्डव स्त्रोतम् मा नृत्य प्रस्तुति गर्नुभएको थियो ।
त्यसैगरी गायन विधामा प्रियंका साकी फस्ट रनर अप अर्थात द्वितीय स्थान प्राप्त गर्न सफल हुनुभयो । उहाँ शिक्षा संकायमा अध्ययनरत हुनुहुन्छ ।
उहाँले म यस्तो गीत गाउँछु २ चलचित्रको गायिका अन्जु पन्तको स्वरमा रहेको,
पिडा भएनी,
खुशी भएनी…जिउने चाहा तिमि संगै…
गीत प्रस्तुत गर्नुभएकको थियो ।
त्यस्तै केएमसी म्युजिक क्लबका संस्थापक अध्यक्ष सन्तोष विकले सेकेन्ड रनर अप अर्थात तृतीय स्थान प्राप्त गर्नुभयो । उहाँले गायक शिव परियारको स्वरमा रहेको,
कहाँ थियौ तिमि रङ्गमञ्च उठेपछि आयौ….
गीत प्रस्तुत गर्नुभएको थियो ।
त्यसैगरी नृत्य विधाको फस्ट रनर अप अर्थात द्वितीय स्थान बि.बि.एस चौथो वर्षमा अध्ययनरत उशा हमालले प्राप्त गर्नुभयो । उहाँले,
हिजो राती तिमिलाई देखे सपनीमा…,
चौतारीको छेउमा संधै पिपलुको छाया… लगायत मिक्स नेपाली गीतमा प्रस्तुति दिनुभयो ।
त्यस्तै नृत्य विधाको सेकेन्ड रनर अप अर्थात तृतिय स्थान गत वर्षकी डान्स स्टार स्मृति थापा र यसोदा बोहराले प्राप्त गर्नुभयो ।
उक्त प्रतियोगितामा गायन तर्फका निर्णायक कैलाली बहुमुखी क्याम्पसका सह-प्राध्यापक डा.यादव बहादुर कडाल, उप-प्राध्यापक पूर्णानन्द जोशी र गायक कमलराज जोशी एवं नृत्य तर्फका निर्णायक उप-प्राध्यापक जानकी देवि थापा, कलाकार गुणाकर पनेरु र नृत्य प्रशिक्षक मदन बहादुर खड्का रहनु भएको थियो भने,गायन तथा नृत्य प्रतियोगिताका संयोजक कैलाली बहुमुखी क्याम्पसका सह-प्राध्यापक एवं केएमसी म्युजिक क्लबका सल्लाहकार डा.गोविन्द राज जोशी रहनुभएको थियो । दुबै विधामा अडिसन राउन्डबाट २४/२४ जना छनौट भई प्रतिस्पर्धामा सहभागि भएका थिए ।