अपिहिमालमा ४ दिने स्वास्थ्य शिविर : आज तेस्रो दिन

धनगढी – दार्चुलाको अपिहिमाल गाउँपालिकामा ४ दिने नि:शुल्क बृहत स्वास्थ्य शिविर सञ्चालनमा आएको छ ।

गाउँपालिकाको सहयोगमा नेपाल फार्मेसी संघ र सिपि अस्पताल धनगढीको संयुक्त आयोजनामा २०८० चैत ३० गतेदेखि २०८१ वैशाख ४ गतेसम्म उक्त शिविर सञ्चालन हुने भएको छ ।

उक्त शिविर हिजो दोस्रो दिन र आज सोमबार तेस्रो दिन अपिहिमालको वडा नम्बर चारमा रहेको खण्डेश्वरी स्वास्थ्य चौकीमा गरिएको छ ।

वडा नम्बर चारका वडा अध्यक्ष एवम् गाउँपालिकाका प्रवक्ता रबिन्द्र सिंह बोहराको अध्यक्षता सम्पन्न भएको आइतबार दोस्रो दिनको  शिविरमा गाउँपालिकाकी उपाध्यक्ष देवकी देवि बोहराको प्रमुख आतिथ्यता रहेको थियो ।

हिजो आइतबार भएको शिविरमा २४३ जनाले स्वास्थ्य सेवा प्राप्त गरेका थिए भने आज तेस्रो दिन १८५ जनाले परामर्श लिएका छन् ।

शिविरमा महिला रोग सम्बन्धी विषेश उपचार तथा परामर्श सेवा, दन्त उपचार सेवा र अन्य सामान्य चेकजाँचहरु गरिने जनाइएको छ ।

त्यस्तै पहिलो दिन चैत ३० गते अपिहिमाल गाउँपालिकाको वडा नम्बर ५ मा उक्त शिविरको पहिलो दिन सम्पन्न भएको छ ।

चैत ३० गते भएको शिविरमा १०७ जनाले स्वास्थ्य सेवा प्राप्त गरेका छन् ।

उक्त शिविरमा नेपाल फार्मेसी संघका केन्द्रिय सदस्य नवीन धामी कार्यक्रम संयोजक रहनुभएको छ ।

उक्त शिविर वैशाख ४ गतेसम्म अपिहिमाल गाउँपालिकाका अन्य वडाहरु गरिने जनाइएको छ  ।

Leave A Reply

Your email address will not be published.