सरकारी वकिल र विद्यार्थीहरुबिच कानुनी संवाद सम्पन्न

धनगढी । स्वतन्त्र विद्यार्थी युनियनको आयोजनामा केएमसीमा विद्यार्थीहरुसंग कानुनी संवाद सम्पन्न भएको छ ।

जिल्ला सरकारी वकिल कार्यालय कैलालीसंगको सहकार्यमा उक्त कार्यक्रम आयोजना गरिएको हो । कार्यालयका प्रमुख जिल्ला न्यायधिवक्ता लक्ष्मी नारायण दहालले कैलाली बहुमुखी क्याम्पसमा कानून संकायमा अध्ययनरत विद्यार्थीहरुसंग कानुनी संवाद र अन्तरक्रिया गर्नुभएको हो । उहाँले सरकारी वकीलको सांगठनिक संरचना, काम, कर्तव्य एवं समग्र दायित्वबारे जानकारी गराउनुभएको थियो ।

अन्तरक्रिया कार्यक्रममा सहभागिहरुबाट सरकारी वकिल र सरकारवादी मुद्दा सम्बन्धि उठाईएका जिज्ञासाहरुको पनि न्यायधिवक्ता लक्ष्मी नारायण दहाले सम्वोधन गर्नु भएको थियो।

अध्ययनशील र प्रतिस्पर्धी विद्यार्थीहरुको कानुनी क्षेत्रमा राम्रो भविष्य रहेको पनि उहाँले बताउनुभयो । अहिलेको नेपालको न्याय प्रणालीमा देखिएका समस्याहरुलाई हल गर्दै स्वतन्त्र र निष्पक्ष न्यायको सुनिश्चितता गर्न कानुन व्यवसायी र विद्यार्थीहरुलाई चुनौती रहेको पनि उहाँको भनाई छ ।

अन्तरक्रिया कार्यक्रममा जिल्ला सरकारी वकिलको कार्यालय कैलालीका नायब सुब्बा इश्वर कुमार आग्री, स्वतन्त्र विद्यार्थी युनियन कैलाली बहुमुखी क्याम्पसका अध्यक्ष यमराज जोशी र सचिव सन्तोष पन्तको पनि उपस्थिति रहेको थियो ।

Leave A Reply

Your email address will not be published.