धनगढी।आज ३१ औँ विश्व प्रेस स्वतन्त्रता दिवस, ‘विश्वका लागि प्रेस : वातावरणीय सङ्कटको सामनामा पत्रकारिता’ भन्ने नाराका साथ नेपालमा पनि मनाइँदैछ । दिवस मनाइरहँदा पत्रकारहरूले प्रेस स्वतन्त्रताको वातावरण सुनिश्चित हुनुपर्नेमा जोड दिएका छन् ।
‘स्वतन्त्र एवम् बहुलवादी प्रेसका लागि विन्डहक घोषणापत्र’ जारी गरेको दिनको सम्झनामा मे ३ तारिखलाई प्रेस स्वतन्त्रता दिवसको रूपमा मनाइने गरिन्छ ।
नागरिकको सधैँ सबै प्रकारका सूचनामा पहुँच हुनुपर्छ र पत्रकारहरूलाई आफ्नो काम गर्न सुरक्षित वातावरण सृजनामा सरकारले सहयोग गर्नुपर्छ भन्ने बुझाउन पनि यो दिवस मनाउन थालिएको हो । यो दिवसले सत्य सम्प्रेषण गर्ने र प्रेस स्वतन्त्रताको सधैँ सम्मानको सुनिश्चिततालाई केन्द्रमा राखेको छ ।