शृङ्खलाको अन्तिम खेलमा नेपाल विजयी

धनगढी । वेष्टइण्डिज ए सँगको अन्तिम खेल जित्दै नेपालले शृङ्खलाको सुखद् अन्त्य गरेको छ । शनिबार भएको शृङ्खलाको अन्तिम खेलमा नेपालले ६ विकेटको जित हात पारेको हाे। वेष्टइण्डिजले दिएको १ सय ७३ रनको लक्ष्य नेपालले १८.५ ओभर खेल्दै ४ विकेट गुमाएर लक्ष्य पुरा गर्यो ।

यो जितसँगै ५ खेलको शृङ्खला नेपालले ३–२ को अवस्थामा पाहुना टोली वेष्टइण्डिजलाई सुम्पिएको छ । नेपालका ब्याटिङ अलराउण्डर कुशल मल्लले उत्कृष्ट फिनिसिङ गर्दै नेपाललाई ७ बल बाँकी हुँदा जित दिलाएका हुन् । उनले १८ बलको सामना गर्दै ३ छक्का र ३ चौकाको मद्दतमा ३७ रन बनाउँदै खेल जिताएका हुन् ।

लक्ष्य पुरा गर्ने क्रममा नेपालका लागि ओपनर आसिफ शेख र तेस्रो विकेटका रुपमा मैदान प्रवेश गरेका अनिल शाहले अर्धशतक प्रहार गरे । नेपालका लागि सर्वाधिक रन बनाएका अनिलले ४५ बलमा ४ छक्का र ४ चौका सहित ५८ रन बनाए । यस्तै, आशिफले ३५ बलको सामना गर्दै ५ छक्का र २ चौकासहित ५१ रन बनाए ।

नेपालका लागि कुशल भुर्तेलले १३ रन बनाए । नेपालविरुद्ध वेष्टइण्डिजका ओवेड म्याककोयले ३.५ ओभर बलिङ् गर्दै ३६ रन खर्चेर ३ विकेट लिए भने म्याथ्यु फोडले १ विकेट लिए ।

यसअघि टस जितेर पहिला ब्याटिङ रोजेको वेष्टइण्डिज ए ले २० ओभरमा ७ विकेट गुमाउँदै १७२ रन बनायो । वेष्टइण्डिज ए का एलिक एथानाजेले २९ बलमा १ चौका र ३ छक्कासहित ४२ रनमा नट आउट रहे । रोस्टन चेसले २३ बलमा ५ चौकासहित सर्वाधिक ३३, जोनसन चार्ल्स २४, कदिम एलियन र मार्क दयालले ११(११ रन बनाए । म्याथ्फु फर्ड १२ बलमा ३ छक्कासहित २३, फबिएन एलेन ३ र गुणाकेश मोती १ रनमा आउट भए ।


नेपालका सोमपाल कामीले ४ ओभरमा १६ रन खर्चेर ३ विकेट लिएका थिए । स्पिनर सागर ढकालले २ ओभरमा १७ रन खर्चेर ३ विकेट भने अभिनाश बोहराले ४ ओभरमा ४९ रन खर्चेर १ विकेट लिएका हुन् । आगामि जुन १ देखि वेष्ट इन्डिज र अमेरिकामा सुरु हुन लागेको टि–२० विश्वकपको तयारी स्वरुप नेपालले वेष्ट इन्डिजसँगको शृङ्खला खेलेको हो ।

Leave A Reply

Your email address will not be published.