उच्च अदालतबाट सन्दीपलाई सफाइ
धनगढी । नेपाली राष्ट्रिय क्रिकेट टीमका पूर्व कप्तान सन्दीप लामिछानेले बलात्कार मुद्दामा सफाइ पाएका छन् । बुधबार उच्च अदालत पाटनका न्यायाधीशद्वय सुदर्शनदेव भट्ट र अञ्जु उप्रेती ढकालको संयुक्त इजलासले जिल्ला अदालत काठमाडौंको फैसलालाई उल्ट्याउँदै सन्दीपलाई बलात्कार मुद्दामा सफाइ दिएको हो ।
उच्च अदालत पाटनका प्रवक्ता तीर्थराज भट्टराईका अनुसार प्रमाण नपुगेको भन्दै जिल्ला अदालत काठमाडौंको फैसला उल्टाएको हो । उनले भने, ‘न्यायाधीद्वयको इजलासले सन्दीप लामिछानेविरुद्ध प्रमाण नपुग्ने भन्दै जिल्ला अदालत काठमाडौंको आदेश उल्ट्याएको छ । सन्दीप लामिछाने निर्दोष रहेको फैसला गरेको छ ।’
काठमाडौं जिल्ला अदालतले लामिछानेलाई बलात्कार मुद्दामा दोषी ठहर गर्दै ८ वर्षको कैद र ५ लाख जरिवानाको सजाय सुनाएको थियो । उक्त फैसलाविरुद्ध लामिछाने र जाहेरीकर्ता उच्च अदालत पाटन गएका थिए । आजको फैसलासँगै सन्दीपलाई अमेरिका र वेष्टइण्डीजमा हुने टि–ट्वान्टी विश्वकपका लागि ढोका खुला भएको छ ।