भारतको सिलोङमा जन्मेर भारतवर्षको ज्ञानमा डुबुल्की मार्दै, यसको प्रभाव विश्व जगतमा कस्तो छ भन्ने जिज्ञासाको खोजमा धेरै वर्ष हराए पछि, एउटा बहुमूल्य मणी लिएर देखा परेका पूर्वीय दार्शनिक हुन्, सलिल ज्ञावली।
पाश्चात्य जगतका विभिन्न क्षेत्रका स्थापित व्यक्तिहरूले सनातन वैदिक हिन्दू धर्म दर्शनमा रहेका विभिन्न ग्रन्थबारे अद्भुत अद्भुत विचारहरू सुने पछि उनी केही वर्ष निरन्तर त्यसैको खोज र संकलनमा लागे, जसको फलस्वरुप ई. स. २००९ मा ‘द ग्रेट माइन्ड्स अन इन्डिया’ नामक संग्रह प्रकाशनमा ल्याए।
यस कृतिको एतिहासिक महत्वलाई बुझ्दै विभिन्न भाषामा अनुवाद हुने क्रममा नेपालका ख्यातिप्राप्त साहित्यकार, विश्लेषक तथा अनुबादक प्रा. डा. गोविन्द राज भट्टराईले नेपालीमा ‘पूर्वीय सभ्यता’ शीर्षक राखेर वि. स. २०६९ मा यसको अनुबाद गर्नु भयो।
यस कृतिको बारेमा नेपालमा पनि विभिन्न समयमा चर्चा परिचर्चा हुँदै आएको छ। पूर्वीय ज्ञानमा रुचि राख्ने, खोज अनुसन्धान गर्ने जो कसैलाई पनि यो कृति अतुलनीय र अमूल्य श्रोतको रूपमा रहेको देखिन्छ। म आफैलाई पनि विद्यावारिधीका लागि गीता सबन्धी पाश्चात्य विद्वानहरुको दृष्टिकोण संकलनमा यस कृतिले महत्वपूर्ण सहयोग पुर्याएको थियो र उक्त कार्यमा निरन्तर लागिरहन निरन्तर प्रेरणा मिलिरहेको थियो।
यस कृतिको एतिहासिक महत्वलाई सबैले स्वीकारेका छन् किनकी यस कृतिले पूर्विय दर्शनको महत्वलाई विश्व स्तरमा नै स्थापित गरेको छ । यस कृतिको अनुवादको क्रममा आफ्ना भावलाई उल्लेख गर्दै, प्रा. भट्टराई भन्नु हुन्छ, ‘म आउने युगका सबै नेपाली चिन्तकलाई अनुरोध गर्दछु – आफ्नो प्राचीन घरतिर फर्कौ; यो जड पथ छाडेर अध्यात्म र विज्ञान सगै बग्ने गंगातिर लागौं।’
यस पुस्तकमा करिब १०० जना जति विभिन्न देशका वैज्ञानिक, दार्शनिक, साहित्यकार, राजनीतिज्ञ जस्ता विविध क्षेत्रमा ख्याति प्राप्त व्यक्तिहरूको वैदिक सनातन हिन्दू ग्रन्थहरू जस्तै वेद, उपनिषद, पुराण, गीता, महाभारत जस्ता ग्रन्थमा रहेको ज्ञानको महिमा गाइएको भाइहरूलाई उल्लेख गरिएको छ। जस्तै बेलायतका भारतीय पहिलो प्रमुख प्रशासकले नै गीता ज्ञानको महानताको गुणगान गर्दै भनेका छन् कि यो विश्वको एक मात्र उत्कृष्ट धार्मिक ग्रन्थ हो। फ्रान्सका ज्योतिषशास्त्रीले भारत वर्षमा विकास भएको ज्योतिष विज्ञान विश्व मै आदिम र महत्वपूर्ण रहेको बताएका छन्।
बेलायती साहित्यकार सर विलियम जोन्सले शाकुन्तल महाकाब्यको अंग्रेजी अनुवाद गर्दै पूर्वीय साहित्य तथा दर्शनले ज्ञानको खोजको अनन्तता तर्फ आकर्षित गर्ने कुरामा जोड दिएका छन्। जर्मन दार्शिक हेगेलले भारतीय दर्शन युरोपेलीका लागि सधैं एक आश्चर्यजनक खोजको रुपमा रहेको रहेको बताएका छन्।
विश्वविख्यात अमेरिकी दार्शनिक थोरोले गीता ज्ञानको महत्वलाई उजागर गर्दै भनेका छन् कि यस ज्ञानको तुलनामा आधुनिक विश्व जगतको ज्ञान पनि फिका छ। जर्मन वैज्ञानिक दुसनले उपनिषदको ज्ञानले अनन्त सत्यको उद्वोध गरेको घोषणा गरेका छन्। यी र यस्ता थुप्रै व्याक्ती र उहाँहरुको पूर्वीय ज्ञान माथि गरिएको अभिव्यक्तिले ज्ञानपिपासु जो कसैलाई पनि पूर्वीय दर्शन प्रति मोहित गर्दछ।
सलील ज्ञवालीको यस पुस्तकले हामी सनातन मार्गीहरुलाई खुशीका साथै जिम्मेवारी पनि थपिदिएको छ। खुशी यस मानेमा कि हाम्रो धार्मिक ज्ञान र परम्परा विज्ञान सम्मत, व्यापक र समावेशी छ, अनन्त छ। यो पूर्वीय दर्शनको मात्रै आधार नभएर, यसले विश्व दर्शनलाई नै सहि मार्गदर्शन गर्न सक्छ, र गरिरहेको छ पनि। यसै खुसीको साथमा थपिएको जिम्मेवारी भनेको हामीले यस ज्ञान परम्पराको थप खोज अनुसन्धान गर्नु र प्रवर्धन गर्नु हो।
यस परम्परामा रहेका कतिपय कुरीतिलाई सुधार्नु, विज्ञान सम्मत कुरालाई व्यवहारमा लागु गर्नु र यसलाई समाजका विविध क्षेत्रको रुपान्तरणका लागी प्रयोग गर्नु नै हो। अर्थात्, साँचो अर्थमा पूर्वीय दर्शनको पुनर्जागरण ल्याउनु हो। युरोपमा १३ औं देखि १५ औं शताब्दिमा आएको पुनर्जागरण युगले विश्व परिवर्तनको आधारशिला निर्माण गरे जस्तै अबको भुमण्डलिकृत विश्व परिवेशमा देखिएका नयाँ नयाँ चुनौतीको सामना गर्दै, विश्वमा दिगो शान्ति र समृद्धिका लागि यस दर्शनको विकास गर्दै लग्नु हाम्रो प्रमुख जिम्मेवारी हो र मलाई लाग्छ अबको विश्वलाई सहि मार्गदर्शन गर्न सक्ने ज्ञान हाम्रो पूर्वीय दर्शनमा अन्तरनिहित छ र यसको नेतृत्व हामीले गर्न सक्छौं।
यसर्थ, हामी, विषेशगरी, प्राज्ञिक र विभिन्न उच्च स्तरको पेशागत क्षेत्रमा लागेका सनातन मार्गीहरूले यो ज्ञानलाई आफ्नो विषय क्षेत्रसंग जोड्दै, प्रयोग गर्दै अघि बढ्नु पर्यो किनकि यसरी प्रयोगमा आधारित ज्ञानले नै सहि मार्गदर्शन गर्न सक्छ। प्रयोगबाट नै सहि र गलत छुट्टिन सक्छ। प्रयोगबाट नै सहिको प्रवर्धन र गलतको परिमार्जन हुँदै जाने हो।
विश्वकै सवै भन्दा पुरानो ज्ञान परम्परा जसलाई सनातन भनिन्छ, यो समग्र विश्व जगतको हितका लागि विकसित गरिएको हो। त्यसैले त ५००० वर्ष भन्दा बढी पुरानो हुँदा हुँदै पनि यसको महत्व हालसम्म उत्तिकै छ र रहिरहने छ। भारतवर्षको यो अमृतलाई जति सक्छौं बाड्नु पर्छ। आदिगुरु शंकराचार्यले यही गर्नु भयो, स्वामी विवेकानन्दले यही गर्नु भयो, योगी नरहरिनाथले यही गर्नु भयो।
इतिहास देखि अहिले सम्म यस्ता धेरै सम्मानित व्यक्तित्वहरु हुनुहुन्छ जसले यही कर्ममा आफ्नु जीवन अर्पण गर्नु भएको छ, अरु धेरै व्यक्तित्वहरु लागि रहनु भएकै छ। यस जागरणको यात्रमा तपाईं हामी कदापी छुट्नु हुँदैन। सलिल ज्ञावलीको यस पुस्तकले छुट्ने परिस्थितिको न्यूनीकरण गरेको छ। हामी आभारी छौ सनातन ज्ञानका सर्जक ऋषिहरु प्रति, यसको प्रवर्धन गर्ने अग्रज गुरुहरू प्रति, अनि यस ज्ञानको महिमा गाउने देश विदेशमा रहनु भएका सनातन मार्गी प्रति, अनि यस्तो अमूल्य कृतिका योजनाकार तथा दार्शनिक सलिल ज्ञवाली प्रति। ॐ तत् सत्।