सामाजिक विकास मन्त्रालयद्वारा केएमसीलाई नयाँ भवन हस्तान्तरण

धनगढी । सामाजिक विकास मन्त्रालयद्वारा कैलाली बहुमुखी क्याम्पसलाई प्राविधिक विषय पढाईका लागि निर्माण गरिएको भवन हस्तान्तरण गरिएको छ।

बुधबार क्याम्पसमा भवन हस्तान्तरण कार्यक्रममा सुदुरपश्चिम प्रदेशका मुख्यमन्त्री एवं सामाजिक विकास मन्त्री दीर्घ बहादुर सोडारीको उपस्थितीमा मन्त्रालयका उपसचिव गणेश बहादुर सिंहले नवनिर्मित भवन हस्तान्तरण गर्नुभएको हो ।

मन्त्रालयले चालु आर्थिक वर्षमा साईन्स एण्ड टेक्नोलोजीको नयाँ भवन निर्माणका लागि ८ करोड ६६ लाख १४ हजार अनुमानित लागत बराबरको बजेट विनियोजन गरेको थियो ।

उक्त भवन रोयल पवन जे.भी. निर्माण कम्पनीले समय अगावै गत चैत्र महिनामा ४ करोड ५१ लाख ३८ हजार ८७० रुपैयामा निर्माण सम्पन्न गरेको थियो ।

उक्त भवनको साँचो बुझ्दै क्याम्पस प्रमुख प्रा.तोयराज भट्टले प्रदेश सरकारले ठुलो गुन लगाएको भन्दै आभार व्यक्त गर्नुभयो । “ परम्परागत विषयहरुले आजको समाजको आवश्यक्ता पुरा हुँदैन त्यसैले सबै विषयहरु पठनपाठन गर्दै जाने क्रममा प्राविधिक विषयहरु अध्यापन गराउने योजनालाई पुरा गर्न क्याम्पस र विश्वविद्यालयसंग पर्याप्त बजेट छैन” उहाँले भन्नुभयो, “ त्यसको लागि बजेट दिएर प्राविधिक भवनहरुको निर्माण गरि प्रदेश सरकारले ठुलो गुन लगाएको छ”

त्यस्तै मुख्यमन्त्री दीर्घ बहादुर सोडारीले शैक्षिक गुणस्तर सुदृढ गर्न नयाँ ढंगले जानुपर्ने बताउनुभयो ।

“हाम्रो विद्यार्थीहरुको गुणस्तरमा कमी आउन थालेको छ, नेतृत्वदायी भुमिकामा रहेको कैलाली बहुमुखी क्याम्पसमार्फत यसबारे नयाँ ढंगले बहस सिर्जना गर्नुपर्छ” उहाँले भन्नुभयो, “प्रदेशको निति निर्माण गर्ने तहमा हाी छौँ, नयाँ भविष्य निर्माण गर्ने विद्यार्थीहरु यहाँ छन, त्यसैले अबको शैक्षिक पद्दतीलाई ठिक दिशामा लैजाने गरि अगाडी बढौँ।”

त्यस्तै स्ववियु सभापति यमराज जोशीले क्याम्पसमा ई–पुस्तकालय बनाउने योजनामा रहेकोले त्यसका लागि पनि प्रदेश सरकारले सघाउनुपर्ने बताउनुभयो । कार्यक्रममा सामाजिक विकास मन्त्रालयका उप–सचिव गणेश बहादुर सिंहले संरचनागत व्यवस्थापनमा पनि विशेष जोड दिन आग्रह गर्नुभयो ।

“क्याम्पसको पुरानो गौरव र सम्मान घट्छ कि भन्ने सबै आम समुदायलाई चिन्ता छ, त्यस्तो अवस्था नआओस भन्नका लागि हामीले नयाँ विषयहरु पठनपाठनमा लैजाने र संरचनाको व्यवस्थापनमा पनि जोड दिनुपर्छ,” उहाँले भन्नुभयो।

उक्त भवन समय अगावै निर्माण सम्पन्न गरेकाले रोयल पवन जे.भी. निर्माण कम्पनीका निर्माण व्यवसायी सिद्धराज भट्टलाई सम्मानपत्र सहित सम्मान पनि गरियो ।

Leave A Reply

Your email address will not be published.