धनगढी । कैलाली बहुमुखी क्याम्पस र सुदुरपश्चिम विश्वविद्यालय बिच विज्ञान संकायको पठ्यक्रम माथि विमर्श गरिएको छ ।
शुक्रबार विश्वविद्यालय अनुदान आयोगको सहयोगमा सुदुरपश्चिम विश्वविद्यालयको स्नातक तहको विज्ञान संकायको पाठ्यक्रम निमार्ण सम्बन्धि क्षमता अभिवृद्धि कार्यक्रम आयोजना गरिएको हो ।
विद्यार्थीहरुको परिक्षामा सुधार ल्याउन पाठ्यक्रम निर्माण र परिमार्जनबारे विश्वविद्यालय र क्याम्पसबिच एकरुपता कायम गर्न उक्त कार्यक्रम आयोजना गरिएको कैलाली बहुमुखी क्याम्पसका विज्ञान संकायका विभागिय प्रमुख उप–प्राध्यापक प्रकाशराज पन्तले बताउनुभयो ।
पाठ्यक्रममा भएको कमजोरी सुधार गर्दै विद्यार्थी र प्राध्यापकहरुबिचमा थप समन्वय हुने पनि उहाँले विश्वास व्यक्त गर्नुभयो ।
यस्तै स्ववियु सभापति यमराज जोशीले क्याम्पस र विश्वविद्यालयबिच साझा बुझाई नहुँदाको प्रादुर्भाव विद्यार्थीहरुले व्यहोर्नु परेकाले यसमा सुधारहुन जरुरी रहेको बताउनुभयो ।
यस्तै सुदुरपश्चिम विश्वविद्यालय विज्ञान संकायका डीन प्राध्यापक डा. भवानी चन्द ठकुरीले पदाधिकारीहरुको अरुचीका कारण प्रभावकारी रुपमा काम गर्न नपाएको गुनासो व्यक्त गर्नुभयो । उहाँले अबका दिनमा विज्ञानका लागि पर्याप्त संरचना र उपकरणको व्यवस्थापनका लागि नयाँ नेतृत्वप्रति अपेक्षा समेत व्यक्त गर्नुभयो ।
यस्तै कैलाली बहुमुखी क्याम्पसका सहायक क्याम्पस प्रमुख सह-प्राध्यापक डा. लोक बहादुर बिष्टले क्याम्पसमा रहेको रिसर्च म्यानेजमेन्ट सेललाई परिचालन गरेर भएपनि यस्ता कार्यक्रम गर्नुपर्ने आवश्यकता औँल्याउनुभयो । विश्वविद्यालयको तर्फबाट हुने त्रुटीहरु सच्चिनुपर्नेमा उहाँले पनि जोड दिनु भयो ।
परिक्षा व्यवस्थापन, पाठ्यपुस्तक र सन्दर्भ सामग्रीको परिपुर्ति, पाठ्यक्रम निर्माण र परिमार्जन, सुचना प्रवाह, प्रश्नपत्र निमार्ण एवं चेकजाँच र नतिजाको विश्वसनियता जस्ता अति संवेदनशील विषयमा विश्वविद्यालयले विद्यार्थीहरुका तर्फबाट उठेका प्रश्नहरुको समयमै उचित सम्वोधन हुन नसक्दा विद्यार्थीहरुमा बढेको निराशाका कारण विद्यार्थी संख्या घट्ने, नतिजा खस्किने र गुणस्तर घट्ने कुराले दिर्घकालीन असर पर्नसक्ने कुरालाई नकार्न सकिदैन त्यसैले नेतृत्व अझ बढी जिम्मेवार हुनुपर्ने देखिन्छ ।