सरकारको बाध्यकारी निर्णयले जेष्ठ नागरीकलाई सास्ती

धनगढी। कैलारी गाउँपालिका वडा न.दुईका ७५ वर्षिया अर्जुन सिंह बोहरा जेठको उखरमौलो गर्मिमा अशक्त श्रीमतिको हात समात्दै जिल्ला प्रशासन कार्यालय अगाडी लाईनमा बसेको दुई दिन भयो । राष्ट्रिय परिचयपत्र बनाउनका लागि जिल्ला प्रशासन कार्यालय पुगेका अर्जुन सिंह बोहराको विहीबार पनि राष्ट्रिय परिचयपत्र बनाउन पाउने छाँट छैन ।

धनगढी उपमहानगरपालिका ११ का रामचन्द्र ओझा पनि यस्तै सास्तीमा छन् । पहिलो दिन कसरी , कहाँ राष्ट्रिय परिचयपत्रको फाराम भर्ने सम्मको भेउ नपाएका ओझाले दोश्रो दिन जिल्ला प्रशासन कार्यालय अगाडीको एक कम्प्यूटर पसलमा गएर अनलाईन फाराम भरेर प्रशासन कार्यालयका फाँटहरु धाउदै रुजु त गराउनु भयो, अझै राष्ट्रिय परिचयपत्रका लागि आँखा औठाको छाप सहित बिवरण तयार गर्ने फाँटको भित्र छिर्न सकेका छैनन् । ओझा र बोहरा मात्रै नभएर राष्ट्रिय परिचयपत्र बनाउन जिल्ला प्रशासन कार्यालय कैलाली पुगेका अधिकांसको अवस्था यस्तै रहेको छ ।

राष्ट्रिय परिचयपत्र बिना सामाजिक सुरक्षाभत्ता नपाउने भनि सरकारले बाध्यकारी निर्णय गरेपछि अहिले जिल्ला प्रशासन कार्यालय लगायत राष्ट्रिय परिचयपत्र बनाउने सुख्खड र टिकापुर स्टेशनमा पनि यस्तै भिड छ । जेष्ठ नागरिक, अपाङ्ग र अशक्तहरुलाई राष्ट्रिय परिचयपत्र बनाउन मुस्कील भैरहेको छ ।

सामाजिक सुरक्षा भत्ताका लागि अनिवार्य राष्ट्रिय परिचयपत्र हुनैपर्ने भनि सरकारले गरेको निर्णयले बेसाहाराहरु र अति अशक्तहरुलाई बढी समस्यामा पारिदिएको छ , दृष्टि फाउन्डेशन कैलालीका सञ्चालिका कल्पना भट्टले भन्नु भयो्, ‘सरकारी निर्णयले कमजोर वर्गलाई गाह्रो गर्नुहुदैन, किनभने सरकार अभिभवाक हो ।” नागरिकताकै आधारमा सामाजिक सुरक्षा भत्ता वितरण गरेमा पनि समस्या हुदैन् थियो,‘निकै दुःख गरेर नागरिकताको खोष्टो पाएका अशक्तहरुले फेरि राष्ट्रिय परिचयपत्रका लागि दुःख झेल्नु परिरहेका भट्टले बताउनु भयो।”

सरकारले नयाँ आर्थिक बर्ष २०८१÷०८२ बाट राष्ट्रिय परिचयपत्रका आधारमा सामाजिक सुरक्षाभत्ता बितरण गर्ने निर्णय गरेको छ । यो निर्णयले गर्दा सामाजिक सुरक्षाभत्ता बुझ्नेहरुले यस अघि नै राष्ट्रिय परिचयपत्र बनाईसक्नु पर्ने भएको छ । राष्ट्रिय परिचयपत्र बनाउन नसके बुझ्दै आएको भत्ता पनि नपाईने हो कि भन्ने चिन्ता जेष्ठ नागरिक, अपाङ्ग र अशक्तहरुलाई छ । बाध्यकारी ब्यबस्थाका कारण जेष्ठ नागरिक, अपाङ्ग र अशक्तहरु गर्मिको प्रवाह नगरेर राष्ट्रिय परिचयपत्र बनाउन पालोपर्खेर बसेका छन् ।

राष्ट्रिय परिचयपत्र बनाउने फाँटमा ब्यबस्थापन पनि राम्रो छैन । पहुँच भएकाहरु पालोमिचेर फाराम भित्र पठाउने र फाँटका कर्मचारीहरुले उहाँहरुको नाम बोलाउदै काम गर्ने गरेको गुनासो पालो कुरेर बसेकाहरुले गर्नु भएका छन् । जिल्ला प्रशासन कार्यालय प्रशासकिय अधिकृत तथा कैलालीका सूचना अधिकारी शिवराज जोशीले दुई हप्ता यताबाट राष्ट्रिय परिचयपत्र बनाउने सेवाग्राहीको अत्याधिक भिडलाग्न थालेको बताउनु भयो ।

जिल्ला प्रशासन कार्यालय कैलालीले सेवाग्राहीको सजिलोका लागि बिभिन्न बिकल्पहरुमा छलफल गरिरहेका छौं , सूचना अधिकारी जोशीले भन्नु भयो, ‘ बिहान ७ बजे देखि बेलुकी ७ बजे सम्म दुईचरणमा सेवा दिने वा वडातहमा राष्ट्रिय परिचयपत्र नबनाएकाहरुको बिवरण संकलन गर्ने पनि हुनसक्छ । ” जिल्ला प्रशासन कार्यालय कैलालीले सञ्चालन गरीरहेका राष्ट्रिय परिचयपत्र बनाउने एउटा स्टेशनबाट एक दिनमा ४० देखि ५० जनाले सेवा लिनसक्ने क्षमता रहेको सूचना अधिकारी जोशीले बताउनु भयो ।

सबै कर्मचारीहरुले राष्ट्रिय परिचयपत्र बनाउने फाँटमा काम गर्न सक्दैनन्, सूचना अधिकारी जोशीले भन्नु भयो, ‘ उक्त फाँटमा काम गर्ने जनशक्तिको पनि अभाव रहेको छ ।” सेवा दिदा जेष्ठ नागरिक, अपाङ्ग र अशक्तहरुलाई प्राथमिकता दिन निर्देशन दिईएको पनि सूचना अधिकारी जोशीले बताउनु भयो ।

Leave A Reply

Your email address will not be published.