गुरही पर्व  र नाग पञ्चमी मनाउनुकाे कारण र महत्त्व 


धनगढी।  यसपालिको नाग पञ्चमी र गुरही पर्व २०८१ साल श्रावण २५ गते शुक्ल पञ्चमीका दिन परेकाे छ । यस्ता चाडपर्वहरू किन मनाइन्छन् ? यसकाे महत्त्व के छ ? याे मेराे विशेष चाँसाे तथा रुचिकाे विषय भएकाेले आज मैले प्राप्त गरेकाे जानकरीका आधारमा केहि कुराहरू पाठकहरू समक्ष सम्प्रेषण गर्ने प्रयास गरेकाे छु । समय समयमा हुने चाडपर्वहरूकाे जगेर्ना गर्नु पर्दछ । थारु समुदायमा ‘गुरही’ मनाउनुको अर्थ, नाग बाबालाई पुजागर्दा विषालु सर्प घरमा नआउने, घरमा चट्याङ नपर्ने, आगलागी नहुने, दुःखको बज्रपात नपर्ने, रोगव्याधी र महामारी घरमा प्रवेश नगर्ने विश्वास गरिन्छ । नागबाबालाई घरको द्वारमा टाँसेर पूजागर्नुको आशय दुःख, कष्ट र रोगव्याधी सधैंकाे लागि हटाेस भन्ने मान्यताका साथ याे पर्व मनाइन्छ । मेराे बुझाइमा थारु समसदायमा मनाइने गुरही पर्व र हिन्दुहरूले मनाउने नागपञ्चमी एउट‌ै हाे । तथापि थारु समुदाय पनि हिन्दु नै हुन् ।

          गुरहीकै दिनदेखि वर्षायाम अन्त्य भई हिउँद शुरुभएको मानिन्छ । तर थारु समाजमा यो तिहारलाई फरक किसिमले लिने गरिन्छ । खेतीपातीको काम भ्याएर सबैजना घरमा फुर्सदिलो भएकाबेला आउने यो पर्व पर्दछ । यसलाई नागपञ्चमीको रुपमा पनि मनाइन्छ ।
          श्रावण शुक्लपक्षको पञ्चमीमा पर्ने यो दिन नाग देवताकालागि समर्पित गरिएको यस दिन गरिएका पूजा अर्चना वास्तवमै नाग देवता समक्ष पुग्ने जनविश्वास रहेको छ, बैदिक दर्शनमा १२ वटा नागहरुको उपस्थिति पाइन्छ जसमा अनन्त, वासुकी, शेष, पद्यम्, कम्बला, कारकोटाका, अश्भतरा, ध्रितराष्ट्र, शङ्कपला, कालिया, तक्शका र पिङ्गला पर्दछन् र यी सम्पूर्णको लागी यही दिन पूजा अर्चना गरिन्छ । थारु समाजमा ‘गुरही, गुर्या’ भनेर मनाइने यस पर्वलाई नेपाली समाजले नागपञ्चमी भनेर मनाउँछ । नागपञ्चमीमा विशेषगरी नेपालीहरु नागबाबाको पूजा–आजा गर्छन् भने थारु समाजमा ‘गुरही’ पूजा हुन्छ । थारु समाजमा पनि ठाउँअनुसार ‘गुरही’ पर्व फरक फरक ढंगले मनाइन्छ ।
          साँझको समयमा गाईगोरु चरेर गोठमा भित्रिएपछि बडघर (भलमन्सा) को पहलमा गाउँका दाजुभाइ दिदीबहिनीहरु नयाँ कपडा पहिरेर थालमा भुजा, कपडाको रंगीविरंगी गुडीया लिएर गाउँको चौराहातिर लाग्छन् । जहाँ ‘गुरही’ ठटाउने गन्तव्य कायम गरेको हुन्छ
             ‘गुरही’ ठटाइसकेपछि त्यहाँ जम्मा भएका थारु दिदी–वहिनिहरु ‘गुरही’ ठटाएकै ठाउँमा भुजा छर्कने र जम्मा भएकालाई प्रसादकोरुपमा बाँड्ने प्रचलन रहेकाे छ । दिदीबहिनीहरुले चना, मकै, केराउ लगायतका परिकारका भुजा प्रसादकोरुपमा बाँड्ने गर्छन् । थालको भुजा न सिद्धिएसम्म जम्मा भएका केटाकेटीहरु भूजा माग्छन् ।
              ‘गुरही’ लाई ठटाइसकेपछि नदी, कुलोमा अन्त्येष्ठी गरिन्छ । त्यसो गरेमा गाउँघरमा रहेको रोग व्याधी र संकट पानीसँगै बगेरजाने र सुखलाभ प्राप्त हुने विश्वास छ थारु समुदायमा । गुरहीलाई नागपञ्चमीकोरुपमा मनाइने गरेपनि हाम्रा पुर्खाहरुले नागको फोटो लगाएर घरमा पूजागर्ने चलन थिएन । अहिलेका युवा पीढिले देखासेखीमा नागको फोटो घरको मूल ढोकामा टाँस्ने प्रचलन शुरुगरेका छन् ।
          नाग पञ्चमीको वास्तविक एतिहासिक तथ्य महाभारतसंग जोडिएको पाइन्छ । परिक्षीत नाम गरेका राजालाई तक्शका नाम गरेको नागले डँस्छ र उनको मृत्यु हुन्छ । उनका छोरा जन्मजयले बुवाको मृत्युको प्रतिशोधकालागि संसारका सम्पूर्ण सर्पहरुलाई मार्ने कार्य प्रारम्भ गरे र यसकालागि उनले महायज्ञ शुरु गर्दछन । जसमा सिद्द ऋृषिमुनी, साधू र पण्डितहरुलाई आमन्त्रण गरे ।
           उक्त यज्ञको हवन कूण्डमा यति शक्तिशाली आगो प्रज्वलित हुन्छ कि तक्शका बाहेकका अन्य सम्पूर्ण सर्पहरु त्यहिं भष्म हुन्छन्, तर स्वर्गमा इन्द्रको शरणमा पुगेका तक्श पनि बिस्तारै यज्ञको बढ्दो प्रभावका कारण राजा इन्द्रसहित जन्मजयसम्म आइपुग्दछन्, यो देखेर सबै छक्क परे । तत्कालै मानसदेवीका पुत्र अस्तिकाले जन्मजयसमक्ष माफिको माग गरेपछि उनले यज्ञ स्थगन गरेका हुन् । यज्ञमा होमिएका सम्पूर्ण सर्पहरुले त्यस पश्चात् आजैको दिन पुर्नजीवन पाएका हुन् ।
           यस दिन नागदेवताको पूजा अर्चनाकालागि दुध, मिठाई, फूल अनि धान भुटेर तयार भएको लया (भुटेर फूल उठेको धान) चढाइन्छ । सामान्यतया अगाडी सर्पनै राखेर पूजागर्न डरलाग्दो र जोखिमयूक्त हुने भएकाले नाग देवताको प्रतिमा, काठ या चित्रमा आजको दिन पूजा गरिन्छ । नाग पञ्चमी तथा गुरही पर्वकाे सम्पूर्णमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछु ।
धन्यवाद !!
मान सिंह धामी (भाैनबाटी)
मालिकार्जुन गाउँपालिका – ४ हुनैनाथ गाेठ्युडी (काेटबुङा) दार्चुला
Leave A Reply

Your email address will not be published.