२५ औं अन्तर्राष्ट्रिय युवा दिवस धनगढीमा पनि मनाइयो

धनगढी। आज धनगढीमा २५ औं अन्तर्राष्ट्रिय युवा दिवस विभिन्न कार्यक्रमहरूको आयोजना गरी मनाइयो।
सी.एस.ई फोरम धनगढी, सुदुरपश्चिम समाज, मेरीस्टोप, फाया नेपाल लगायतका संस्थाहरूको आयोजना र याड नेपाल, बायन कैलाली, निड्स नेपाल, र युएनएफपीए को आर्थिक सहयोगमा दिगो विकास लक्ष्यमा प्रगति र समृद्धि र डिजिटल प्रविधिमा युवा पहुँच अभिवृद्धि भन्ने नारासहित यो दिवस मनाइएको हो।


कार्यक्रमका दौरान, युवाहरूले सरकारले ल्याएका कार्यक्रमहरूको कार्यान्वयन प्रभावकारी नभएको र युवाका मुद्दा अपेक्षाकृत रूपमा सम्बोधन नभएको गुनासो युवाहरुको रहेको थियो। अहिले युवाको मुख्य समस्या बेरोजगारी रहेको छ। स्वदेशमा रोजगारी र उद्यमशीलताको अवसरको कमीका कारण वार्षिक सात लाखभन्दा बढी युवा रोजगारीका लागि विदेश जान बाध्य छन्, जुन विभिन्न सरकारी तथ्याङ्कले पुष्टि गरेको छ।


राज्यमन्त्री सरस्वती खड्काले युवालाई देशको मेरुदण्डको रूपमा उल्लेख गर्दै, विदेश पलायन भइरहेका युवालाई रोक्नका लागि जनप्रतिनिधी लगायत सम्पूर्णलाई जिम्मेवार हुनुपर्ने बताउनु भयो। उहाँले आगामी दिनहरूमा सम्पूर्ण युवाहरूका विचारलाई संकलन गरी सुदुरपश्चिम प्रदेशमा के गर्ने भन्ने योजना बनाउने संकेत दिनुभयो।सामाजिक विकास मन्त्रालयका उपसचिव गणेश सिंहले अन्तर्राष्ट्रिय युवा दिवसको शुभकामना दिँदै, युवाहरूले आफ्नो काम र क्रियाकलापमा ध्यान दिनु महत्त्वपूर्ण भएको बताउनु भयो। उहाँले सुदुरपश्चिम प्रदेश सामाजिक विकास मन्त्रालयले युवाहरूलाई पूर्ण सहयोग गर्ने आश्वासन पनि दिनुभयो।

 

Leave A Reply

Your email address will not be published.