स्थानीय तह संस्थागत स्वमूल्याङ्कनको गुणस्तर परीक्षणमा कैलालीमा घोडाघोडी नगरपालिका उत्कृष्ट

धनगढी। स्थानीय तह संस्थागत स्वमूल्याङ्कनको गुणस्तर परीक्षणमा कैलाली जिल्लामा घोडाघोडी नगरपालिका उत्कृष्ट नगरपालिका भएको छ ।
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले प्रकाशन गरेको अन्तिम नतिजामा घोडाघोडीले विभिन्न सूचक मापन गरी ८३ दशमलव ५० अङ्क प्राप्त गरी जिल्लामा प्रथम भएको हो । घोडाघोडी नगरपालिकाले शासकीय प्रबन्धमा सात दशमलव पाँच, वार्षिक बजेट तथा योजना तर्जुमा व्यवस्थापनमा आठ दशमलव पाँच, वित्तीय एवम् आर्थिक व्यवस्थापनमा सात दशमलव २५, सेवा प्रवाहमा १३ अङ्क पाएको छ ।

त्यसैगरी न्यायीक कार्यसम्पादन, भौतिक पूर्वाधार, सामाजिक समावेशीकरण, वातावरण संरक्षण तथा विपद् व्यवस्थापन र सहकार्य र समन्वयमा क्रमशः सात, दश दशमलव पाँच, दश, सात र चार दशमलव ७५ अङ्क प्राप्त गरेको छ ।

आर्थिक वर्ष २०७९/०८० को स्वमूल्याङ्कनमा गौरीगंगा नगपालिकाले ८२ दशमलव ५० अङ्क प्राप्त गरी दोस्रो भएको छ भने धनगढी उपमहानगरपालिका ८२ अङ्क प्राप्त गरी तेस्रो स्थानमा छ ।

१३ वटा स्थानीय तह रहेको कैलालीमा चुरे गाउँपालिकाले ७९ दशमलव ७५, भजनी नगरपालिकाले ७४ दशमलव ५०, जोशीपुर गाउँपालिकाले ७१ दशमलव ५०, जानकी गाउँपािलका ६९ दशमलव ५०, टीकापुर नगरपालिका ६५ दशमलव ७५, बर्दगोरिया गाउँपालिका ६८, लम्कीचुहा नगरपालिका ४३ दशमलव ७५, मोहन्याल गाउँपालिकाले २६ दशमलव २५ अङ्क पाएको सार्वजनिक नतिजामा उल्लेख छ ।

मन्त्रालयले बिहीबार प्रकाशित गरेको नतिजामा आर्थिक वर्ष २०७९/०८० मा गाउँपालिका तथा नगरपालिकाको गुणस्तर परीक्षणको कार्य मन्त्रालयबाट सम्पन्न भई अन्तिम नजिता सार्वजनिक गरिएको जनाइएको छ । स्वमूल्याङ्कन कार्यले स्थानीय तहको कार्यप्रक्रिया र उपलब्धिको लेखाजोखा गरी शासकीय पक्रिया र विकास व्यवस्थापनमा गर्नुपर्ने सुधारका क्षेत्रहरु पहिचान गर्ने, आवधिक समिक्षाको आधारमा प्राप्त गर्ने र स्थानीय सरकारबिच स्वस्थ प्रतिस्पर्धाको भवना जागृत गराउने उद्देश्य स्वमूल्याङ्कनको रहेको जनाइएको छ । स्रोतः गोरखापत्र

Leave A Reply

Your email address will not be published.