गौरा पर्वको साँस्कृतिक महिमा र कथावस्तु
हिमालयले आफ्नी सुकुमारी कन्या जोगीलाई नदिने बताएपछि महेश्वर आफ्नो दिव्यस्वरुपको दर्शन दिन्छन् । त्यसपछि गौरा र महेश्वरको धुमधामसँग विवाह सम्पन्न हुन्छ ।
पृष्ठभूमि
नेपाल भौगोलिक र सांस्कृतिक विविधता भएको देश हो । यहाँ एकातिर जातिगत सांस्कृतिक विविधता पाइन्छ भने अर्कातिर क्षेत्रगत मौलिक संस्कृतिको भण्डार छ । जातिगत रूपमा किराँत, गुरुङ, मगर, नेवार, शेर्पा तथा थारूहरुको आफ्नै परम्परा र संस्कृति छ । क्षेत्रगत रूपमा मैथिली, भोजपुरी र अवधी भाषाभाषी क्षेत्रको बेग्लै परम्परा र संस्कृति पाइन्छ । देशैभरि छरिएर रहेका खस आर्यहरु छुट्टै परम्परा र संस्कृतिको निर्वाह गरिरहेका छन् । परम्परा रूढ र विशिष्टीकृत हुँदै गएपछि संस्कृति बन्छ । संस्कृतिबाट संस्कार जन्मन्छ । संस्कृतिले जाति, समुदाय, क्षेत्र र राष्ट्रको अस्तित्वबोध र पहिचान गराउँछ । संस्कृतिको परिष्कार, परिमार्जन र शुद्धीकरणका लागि संस्कार चाहिन्छ । अतः संस्कृतिको अक्षुण्णता जीवन्तता र निरन्तरताका लागि संस्कारको आवश्यकता पर्दछ । उस्तै संस्कार एउटै भएपनि त्यसको निर्वाह गर्ने चलनमा भिन्नता हुन सक्छ । पूर्वतिर आफन्तको मृत्यु हुँदा घर परिवारका महिलाहरू किरियापुत्रीले जस्तै माथिल्लो आङको लुगा नलगाई बस्छन् तर पश्चिमतिरका अधिकांश ठाउँमा यो चलन छैन ।
नेपालको काली–कर्णाली क्षेत्र संस्कृतिको अपार भण्डार मानिन्छ । गोरा (गौरा), भुओ नाच, पुतला नाच, होरी (होली) आदि यहाँका सांस्कृतिक पर्व हुन् । न्वारन, पास्नी व्रतबन्ध, विवाह, पूजाआजा आदि शुभ अवसरमा सगुन गाइन्छ । देवीदेवताका पर्व जात्रा जस्ता उत्सवमा फाग, माङ्गल एवम् झोडो गाइन्छ । विसु पर्वमा देवर–भाउजूबिच सिस्नो लगाउने, ओल्के सङ्क्रान्तिमा मान्यजनहरुलाई कोसेली दिने, माघ–चैत्रमा उपहारसहित चेलीबेटीलाई भेट्ने चलन छ । आफूले नयाँ अन्नबाली सेवन गर्नु पूर्व भूमे आदि ग्राम र कुलदेवतालाई चढाउने चलन छ ।
परिचय
पहिले डडेलधुरा र बैतडी जिल्ला तथा दार्चुला, बझाङ र डोटीका केही भागमा मनाइने गौरा हाल सुदूरपश्चिमको मुख्य पर्व बनेको छ । बसाइसराइ, पेसा विस्तार र सांस्कृतिक उदारताका कारण अचेल गौरा काठमाडौं उपत्यकालगायत विदेशमा समेत धुमधामसँग मनाइन्छ । यसैगरी उत्तराखण्डका कुमाऊँमा पनि धुमधामसँग गौरा मनाइन्छ । नेपाल सरकारले गौरा पर्वको अवसरमा सुदूरपश्चिम प्रदेशमा सार्वजनिक बिदा समेत दिने गरेको छ ।
गौरा खासगरी भाद्र शुक्ल अष्टमीका दिन मनाइन्छ तापनि कुनै कुनै वर्ष भाद्र कृष्ण अष्टमीमा पनि मनाइने गरिन्छ । शुक्ल पक्षमा मनाइने गौरालाई उजली गोरा (उज्याली गौरा) र कृष्ण पक्षमा मनाइने गौरालाई अनारी गोरा (अँध्यारी गौरा) भनिन्छ । अँध्यारी गौरा परेको वर्ष कृष्णाष्टमी र गौराष्टमी एकै दिन पर्छन् । गौराष्टमीलाई दुर्वाष्टमी पनि भन्ने गरिन्छ । संस्कृतिविद् वासुदेव पाण्डेय (तारानगर, धनगढी) का अनुसार अगस्ति नामको ताराको उत्तरतिर उदय भएपछि दुर्वाष्टमी मनाउन नहुने र अगस्ति तारो भदौ महिनाको १९–२१ गतेतिर उदय हुने हुनाले अगस्ति उदयपछि भाद्र शुक्ल अष्टमी परेमा त्यस वर्ष कृष्णपक्षकै अष्टमीमा गौरा पर्व मनाउने चलन छ ।
महिलाहरुको पर्व मानिने गौरामा पुरुषहरुको पनि उत्तिकै सक्रियता र सहभागिता रहन्छ । यस अवसरमा विवाहित महिलाहरू सांस्कारिक कृत्य सम्पन्न गर्दछन् भने केटाकेटी र पुरुषहरू मिठो खाने र राम्रो लाउने गर्छन् । नयाँ लुगा लाउन पाइने, मिठा मिठा पकवान खान पाइने र मेला भर्न पाइने हुनाले केटाकेटीहरूका लागि गौरा प्रतीक्षाको घडी हुन्थ्यो । पञ्चमी तिथिदेखि गौरा पर्वको सुरुआत हुन्छ ।
उसो त श्रावण शुक्ल एकादशी (पुत्रदा एकादशी) देखि नै गौरा पर्वको प्रारम्भ हुन्छ । यसलाई गौरा एकादशी भनिन्छ । पञ्चमीका दिन बिरुडा (गहत, गुरौँस, केराउ, गहुँ र मासको क्वाँटी) भिजाइने हुनाले यसलाई बिरुडा पञ्चमी भनिन्छ । षष्ठी तिथिका दिन भिजाएका बिरुडा पँधेरो, जलाशय एवम नदी (खोला) मा लगेर धोइन्छ । सप्तमीको दिन धान, सौँ, तितेपाती, तिल, तुलसीका हरिया वनस्पति बेरेर सतीदेवी र पार्वतीको प्रतिमुर्ति (पुतला) बनाई डालामा राखेर भित्र लगिन्छ भने पिर्कामा सेतो–पहेँलो कपडा बेरेर शिवजीको स्थापना गरिन्छ । यसलाई पाणमा (घर भित्र) गोरा ल्याउने भनिन्छ । यसै दिन महिलाहरू दुबो राखेर विशेष किसिमका सात गाँठा पारेको ब्राह्मणद्वारा अभिषेक गरिएको धागाको डोरी लाउँछन् । यसलाई सप्तमी भनिन्छ । अष्टमीको दिन पाणमा राखिएकी गोरालाई बाहिर गोरेखला (गौरा पर्व हुने आँगन विशेष) मा ल्याइन्छ । यसमा घर परिवार र टोल छिमेकका सबै व्रतालु महिलाहरु सहभागी हुन्छन् ।
गौरा बाहिर ल्याउँदा एकातिर दमाहा, भोकर आदि बाजा बजाइन्छ भने अर्कातिर उमा महेश्वरको फाग गाइन्छ । त्यसपछि उमा महेश्वरलगायत विभिन्न देवीदेवताको आह्वान र पूजाअर्चना गर्दै गौरालाई नचाइन्छ । पूजाको अन्त्यतिर दुई तीन जना महिलाहरु लामो कपडा थाप्छन् । व्रतालु महिलाहरू त्यसमा मौसमी फल चढाएर पोल्टो थाप्छन् । त्यसपछि कपडामा राखेका फलहरू आकाशतिर हुत्याइन्छ र जसको पोल्टामा फल खस्छ अथवा जसले फल समात्न सक्छ उसको घरमा लच्छिन हुने विश्वास गरिन्छ । यसलाई फल फट्काउने भनिन्छ । अष्टमीकै दिन व्रत बसेका महिलाहरू दुबाले, पूजा र अभिषेक गरिएको रातो, पहेँलो, कालो, सेतो धागाको गुच्छा जस्तो डोरी घाँटीमा लाउँछन् । यसलाई दुबीधागो भनिन्छ । यस क्रममा अघिल्लो वर्ष लगाएको सप्तमी र दुबी धागो फेर्नुपर्छ । आशौच बारेका महिलाहरूचाहिँ जुठो फुकेपछि अभिमन्त्रित सप्तमी र दुबीधागो लाउँछन् । गौराष्टमीलाई ‘अँठेवाली’ पनि भनिन्छ ।
महिलाहरूको सप्तमी र दुबीधागो लाउने संस्कारलाई पुरुषहरुको व्रतवन्ध र जनैपूर्णिमासित दाँज्न सकिन्छ । फरक के छ भने पुरुषहरुको व्रतबन्ध विवाह अघि गरिन्छ जबकि महिलाहरू विवाहपछि मात्रै दुबीधागो लाउँछन् । पहिलोचोटि दुबीधागो लाउन उज्याली गोरा हुनुपर्दछ भन्ने मान्यता छ । पहिलोचोटि दुबीधागो लाउने महिलालाई ‘नौली गोरिया’ भनिन्छ । पुरुषहरूले जनै फुकाल्नु हुन्न भनेजस्तै महिलाहरूले सप्तमी र दुबीधागो फुकाल्नु हुँदैन । यसरी नै पुरुषहरुले जनै पूर्णिमामा पुरानो जनै फेरे जस्तै महिलाहरू गौराको दिन पुरानो दुबीधागो फेरेर नयाँ दुबीधागो लाउँछन् । यसपछि व्रत बसेका महिलाहरु बिरुडाले घर, परिवार, इष्टमित्र र आफन्तहरूको शरीरको (विशेषगरी शिरको) पूजा गर्दै आशीर्वचन दिन्छन् । यसलाई स्थानीय भाषामा मुन्डो पुज्ने (शिर पूजा) भनिन्छ । मुन्डो पुजेपछि महिलाहरुको व्रत उपवास र धार्मिक– सांस्कारिक अनुष्ठान समाप्त भएको मानिन्छ ।
गौरालाई वर्ष दिनको पर्व मानिने हुनाले यसलाई तिहार (चाड) का रूपमा मनाइन्छ । बिरुडा धोएको साँझ मनाइने चाडलाई नानी रोटेइ (सानो पकवान) र सप्तमीको साँझ मनाइने चाडलाई ठुली रोटेइ (ठुलो पकवान) भनिन्छ । यस्तै बिरुडा धोएकै दिन पाणमा गोरा ल्याइएमा त्यसलाई ‘धोई गोरा’ र सप्तमीको दिन पाणमा गोरा ल्याइएमा त्यसलाई ‘बाटा गोरा’ भनिन्छ । अष्टमीको साँझ बिरुडा भुटेर खाइन्छ । धोई गोरा तथा बाटा गोरा हुने स्थितिचाहिँ तिथिको घटबढमा भर पर्छ । तिथि घटेमा धोई गोरा र तिथि घटबढ नभए बाटा गोरा हुन्छ । यस क्रममा बिरुडा नहालेको घरमा बिरुडा दिएर तथा एकापसमा साटासाट गरेर सद्भाव जनाइन्छ । अष्टमीपछि समय र परिस्थितिअनुसार गौरालाई सेलाए (विसर्जन) पछि गौरा पर्वको विधिवत् समापन भएको मानिन्छ ।
अँठेवालीसँगै गौराको मनोरञ्जनात्मक पाटो सुरु हुन्छ । गौरा अथवा अँठेवालीको दोस्रो दिनलाई ‘खेडी’, तेस्रो दिनलाई ‘धोडी’ र चौथो दिनलाई ‘लमधोडी’ भनिन्छ । यस क्रममा गोरेखलोको आसपासमा मेला र हाट लाग्छ । केटाकेटीहरुले मिठाइँ आदिका परिकार खाँदै सिठी बजाउँदै, बैलुन फुक्दै गरेको दृश्य अति नै रोमाञ्चक र लोभलाग्दो हुन्छ । त्यसैगरी वयस्क र तन्नेरीहरू ड्यौढा (देउडा) खेलेर संस्कृति र परम्पराको निर्वाह गर्छन् ।
सह-प्राध्यापक: गणेशराज जोशी
कथावस्तु
गौराको कथावस्तु महादेव (महेश/महेश्वर), सतीदेवी र पार्वती (गौरी/गौरा को आख्यानमा आधारित देखिन्छ । लोकसाहित्यविद् दिलानन्द पन्त (असिगडा दार्चुला हाल ऐँठपुर कञ्चनपुर) का अनुसार गौराको विषयवस्तु वेदव्यासरचित शिवपुराणको हरगौरी विवाहको आख्यानमा आधारित छ । यसका साथसाथै गौरा पर्वको कथावस्तु स्कन्ध पुराणबाट लिइएको स्वस्थानी व्रतकथासित पनि मिल्दोजुल्दो छ । गौरा पर्वको फागको कथावस्तु यस्तो छः
महादेव अर्थात् महेश्वरलाई पति पाउन तपस्या गर्ने निश्चय गरेकी बाह्र वर्षकी गौरा आफ्नी आमालाई गङ्गाको किनारमा झुपडी बनाइदिन अनुरोध गर्छिन् । तपस्या अर्थात व्रत बस्ने स्थान लिपपोत गरेर पवित्र पारिसकेपछि गौरा बिरुडा भिजाउने कुँडेलो (बिरुडा भिजाउने ताउलो) माग्न माइतीहरु कहाँ जान्छिन् । आमाबुबा सुन चाँदीको कुँडेलोमा भाइहरूको भाग लाग्ने हुँदा दिन नसकिने बताउँछन् । गौरा भदाहाले दिएको तामाको कुँडेलो ल्याएर घर फर्किन्छिन् र महादेवलाई बिरुडा खोज्न पठाउँछिन् ।
महादेव मथुरा र कन्नोजमम्म पुगेर खोज्दा पनि केराउ नपाइएकाले, गहत, गुरौँस, गहुँ र मासमात्र ल्याएर फर्कन्छन् । गौरा केराउ नल्याएकामा महादेवसित रिसाउँछिन् र गणपति बालोलाई पिठिउमा बोकेर आफै केराउ खोज्न जान्छिन् । उनी कलुवा लुहारसित कोथल्या आँसी (ठुलो हँसिया) बनाइ माग्छिन् । गौरा भदौ महिनामा हँसियाले पाखो पखेरो तथा भावर फँडान गर्छिन् । असोजमा फाँडेका झारपात जलाएर कुटो कोदालो बनाइमाग्न कलुवाको घरमा जान्छिन् ।
कार्तिकमा खनजोत गरेर केराउ लगाउँछिन् । चैतमा केराउ पाक्छ । महेश्वर जोगीको भेषमा आएर केराउ माग्छन् । अन्नपूर्णास्वरूपा गौरी केराउको पहिलो कोसा महेश्वरलाई, दोस्रो कोसा गणपतिलाई, तेस्रो कोसा आफू स्वयम्लाई, चौथो कोसा तिमीजस्ता जोगीलाई र पाँचौं कोसा संसारलाई बाँड्छु भन्छिन् । यसरी बिरुडाको पाँचौं अन्न केराउको बन्दोबस्त भएपछि विभिन्न देवी देवताको आह्वान गरेर गौरीदेवीको व्रत आरम्भ हुन्छ । त्यसपछि हिमचुलीबाट उत्पत्ति भएको नदीमा महेश्वरसहित विभिन्न देवीदेवतालाई स्नान गराइन्छ ।
त्यसै जलमा पाँचपल्ट पञ्चबिरुडा पनि धोइन्छ । स्नानकुण्डमै पञ्चबाली अर्थात् धान, सौं, तिल, तितेपाती, तुलसीबाट निर्मित गौराको स्थापना गरेर पूजा गरिन्छ । यसैमा तेत्तिसकोटि देवताहरूलाई वास बस्नुहोस् भनी आह्वान गरिन्छ । दसै दिशाबाट आएका भगवती (गौरी) का अनेक रूपहरूको आगमनले सारा संसार उज्यालो हुन्छ । गौरालाई दुधकुण्डमा स्नान गर्न अनुरोध गर्दा महेश्वरका विविध (नाम) रूप र गणहरुको उपस्थितिले असजिलो पर्दा दुधकुण्ड, गहुँतकुण्ड र जलकुण्डबाट दुबोका छिटा फालेर गौरालाई स्नानशुद्धि गराइन्छ । यसैमा व्रतालु महिलाहरुले राम लक्ष्मण र पाण्डवजस्ता पुत्र प्राप्त हुने तथा मनोवाञ्चित फल प्राप्त गर्ने बताइएको छ । चारै दिशाका बनियाँहरु रङ्गीविरङगी धागाका डोरी ल्याएर गौरा र महेश्वरलाई मन पर्ने रङ्ग छान्न अनुरोध गर्छन् ।
गौरा महेश्वरलाई मन कालो बनाउने कालो रङ्ग नछान्नुस् भन्ने आग्रह गर्छिन् । महेश्वरचाहिँ म पनि त कालै छु नि भनेर कालो रङ्ग मन पराउँछन् । यही विषयमा भनाभन परेपछि गौरा रिसाएर माइत जान्छिन् । गौरा आमालाई महेश्वरले दुःख दिएको गुनासो गर्छिन् । आमा सिस्नो पकाएर गौरालाई खुवाउँछिन् । गौराको पछि पछि गएका महेश्वर गणपति भोकाएको हुनाले गौरालाई घर जाऔँ भन्छन् । त्यसपछि दुवै घर फर्कन्छन् ।
बाटामा महेश्वर माइतमा के के खायौ भनी गौरालाई सोध्छन् । गौरा माइतीको इज्जत राख्न खिर खाएको बताउँछिन् । महेश्वरले सिस्नो खाएर खिर खाएँ भन्छ्यौ भन्दा अन्नपूर्णा गौरा खिरको वान्ता गर्छिन् । महेश्वर सिस्नो खाएर खिर वान्ता गर्ने तिमी त बोक्सी पो रहेछौ भन्दै अर्को विवाह गर्न गङ्गा किनारतिर जान्छन् । गौराको अनुरोधमा भाइ दामोदर (नारायण) महेश्वरलाई खोज्न जाँदा गङ्गा किनारमा भेटिन्छन् । दामोदरले दोस्रो विवाह नगर्न अनुरोध गरे पनि महेश्वर गङ्गा किनारमा तपस्या गरिरहेकी सन्जालाई गौराकी सौताका रूपमा भित्राउने इच्छा व्यक्त गर्छन् ।
गौरा सन्जालाई सौता स्विकार नगर्ने बताउँछिन् । महेश्वरले गौरापुत्र गणपतिलाई नदीमा बगाइदिने धम्की दिएपछि गौरा सहमति जनाउँछिन् । अन्ततः महेश्वर र सन्जा (गौरा) को विवाह हुन्छ । विवाह सामग्रीका रूपमा भतम्यौलीका दानाका फुलौरा, बालुवाको सया, वनहल्दीको टीका, गाई पगडियाको व्यासाडो, गाईको गहुँतको तेल र गोवरका बारा बनाइयो । गौराको आग्रहमा महेश्वर बडुभाट नामको जोगीको भेष धारण गरी हिमालय पर्वतको घरमा गौरालाई माग्न जान्छन् । हिमालयले आफ्नी सुकुमारी कन्या जोगीलाई नदिने बताएपछि महेश्वर आफ्नो दिव्यस्वरुपको दर्शन दिन्छन् । त्यसपछि गौरा र महेश्वरको धुमधामसँग विवाह सम्पन्न हुन्छ ।
लेखक (जोशी )
सुदूरपश्चिम विश्वविद्यालय,
कैलाली बहुमुखी क्याम्पसमा सह-प्राध्यापक हुनुहुन्छ ।
*डेउडा प्रतिष्ठान सुदुरपश्चिमद्धारा आयोजित गौरा पर्व विशेष देउडा प्रतियोगिता, धनगढी ।
तस्बीरः सुमित्रा सिजापति मगर /रेडियो केएमसी