हिन्दु नारीहरूकाे महान चाड ‘हरितालिका तिज’

धनगढी । तिज हिन्दु नारीहरूले मनाउने एउटा महत्त्वपूर्ण चाड हो ।
यो चाड प्रत्येक वर्ष भाद्र शुक्ल द्वितीयादेखि पञ्चमीसम्म आफ्ना पतिकाे सुख, शान्ति, सु-स्वास्थ्य र दीर्घायुकाे कामना गर्दै हिन्दु महिलाहरूले धुमधाम पूर्वक ४ दिनसम्म मनाउने गर्दछन् । याे परम्परादेखि चलिआएको माैलिक चाड भएपनि पश्चिमा मुलुकरूकाे देखासिकीले समाजमा विभिन्न तडकभडक, घरमा बनाइने दरकाे रुपमा पकाइने बिशुद्ध शाकाहारी खाना खीर, सेलपुरी, लाउनकाे बदलामा हाेटल, रेष्टुरेन्टहरूमा तामसी भाेजन, मांस, मदिरा, काेक, फेन्टा लगायतका खाद्य तथा पेय पदार्थकाे सेवन, टाेल तथा छरछिमेकमा गरगहना देखाउने प्रतिस्पर्धा आदिले गर्दा हिन्दु नारीहरूकाे तिजमा पनि नाैलाेपना देखा परिरहेकाे छ ।
तिजमा भगवान शिवको आराधना गरिनुका साथै नाचगान मनोरञ्जन समेत गर्ने गरिन्छ ।  भगवान शिवजीकी अर्धाङ्गीनी हिमालय पुत्री पार्वतीले भगवान शिवको शरीरमा कुनै वाधा उत्पन्न नहोस् भनेर पहिलो व्रत राखेकी थिइन् । त्यो दिन यही हरितालिका तिजको दिन थियो । त्यसै दिनदेखि आजसम्म हिन्दु नारीहरूले यो पर्व मनाउदै आएका छन् भन्ने विश्वास गरिन्छ । यस लेखमा हरितालिका तिज किन भनिन्छ भन्ने कुराकाे जानकारी उल्लेख गर्नु बान्छनीय देखिन्छ । हिमालय पुत्री पार्वतीले शिवजीलाई पतिकाे रुपमा पाऊँ भनी कठाेर तपस्या तथा व्रत बसेकाे देखेर भगवान हरि खुसी भएर व्रतकाे पूजन विधि बताएकाे हुनाले हरिले दिएकाे तालिका अनुसार तिज मनाइने भएकाेले हरितालिका तिज भनिएकाे हाे ।
          श्रीमद्भागवत महापुराणको अर्को प्रसङ्गअनुसार भाद्र कृष्ण अष्टमीको दिन भगवान् श्रीकृष्णको जन्म भयो । श्रीकृष्णको जन्मभएको ११औं दिन अर्थात् न्वारन (नामकरण) को दिन गोकुलका गोपगोपिनीहरूले बाजागाजाका साथ नाचगान गरि खुसियाली साटासाट गरेका थिए । यही पौराणिक प्रसङ्गसँग जोडिएर नै तिजमा महिलाहरूले नाचगान गर्ने परम्पराको थालनी हुन पुग्यो ।
 हिन्दू धार्मिक ग्रन्थ अनुसार राजा हिमालयले आफ्नी छोरी पार्वतीको कन्यादान भगवान विष्णुसँग गरिदिने वचन पार्वतीलाई मन नपरेपछि आफूले मन पराएको वर पाउन जङ्गल गएर शिवजीको तपस्या गर्न थालिन् । पार्वतीले तपस्या गरेको एक सय सात जन्म पूरा भइसक्दा पनि आफूले गरेको तपस्याको फल नपाउँदा एक दिन उनले शिव लिङ्गको स्थापना गरी पानी पनि नखाइकन निराहार व्रत बसिन् । यसरी पार्वतीको कठोर व्रतको कारण शिवजी प्रकट भई ‘चिताएको कुरा पुगोस्’ भनी आशीर्वाद दिए पछि शिव पार्वतीको विवाह हुन पुग्यो । त्यो दिन भाद्र शुक्ल तृतीयाको दिन थियो । सोही तिथिदेखि हिन्दू नारीहरूले यस दिनलाई उत्सवका रूपमा मनाउन थाले र यो तिजको रूपमा मनाउने चलन पौराणिक कालदेखि चल्दै आएको मानिन्छ ।
            परापूर्व कालमा हिमालयकी पुत्री पार्वतीले भगवान् शिवलाई पतिदेवको रूपमा प्राप्त गर्न सकूँ भनी घोर तपस्यामा तल्लीन भइन् । तर, उनको तपस्या सफल हुन सकेन । जगतका पालनकर्ता भगवान् विष्णुलाई पक्कै पनि आफ्नो तपस्या कसरी सफल हुन्छ भन्ने कुरा थाहा छ भनी उनले भगवान् विष्णुको प्रार्थना गरिन् र विष्णुले भगवान् शिवलाई प्राप्त गर्न व्रत, उपासना तथा पूजा विधिका सम्बन्धमा बेलीविस्तार लगाए । पार्वतीले कठोर व्रत बसेपछि भगवान् शिव खुसी भई प्रकट भए र चिताएको कुरा पुगोस् भनी वर दिए । यही दिन पार्वतीले विधि सम्मत पूजाआराधना गरी शिवलाई प्राप्त गर्न सफल भएकी थिइन् । त्यसैले यो पर्व हरितालिका (हरिले दिएको तालिकाअनुसार गरिने पूजा) को नामले प्रचलित हुन पुग्यो । विवाह गरी पतिका घर गएका छोरीचेलीलाई यस दिन माइत ल्याउने चलन छ । अविवाहित नारीहरूले शिवजी जस्तै योग्य वर प्राप्त गर्न सकूँ भन्दै भगवान् शिवको व्रत आराधना गर्दछन् भने विवाहित महिलाहरूले पारिवारिक सुखशान्ति तथा दाम्पत्य जीवनको सफलताका लागि व्रत आराधना गर्ने गर्दछन ।
          तृतीया तिथिको दिनमा दिनभर भोकै निराहार र निर्जला व्रत बसिने भएकाले द्वितीया तिथिको राति दर खाने चलन छ । महिलाहरूले भोलिपल्ट तृतीयाको दिनमा जलाशयमा स्नान गरी पवित्र भई शुद्ध मनले निराहार व्रत बस्ने गर्दछन् । तिजको दिनमा पानीसम्म नपिई निराहार र निर्जला व्रत बस्नाले भगवान् शिव खुसी हुने र परिवारमा सुखसमृद्धि छाउने र आफ्ना पतिदेवकाे आयु लम्बिने  जनविश्वास छ । यस दिन विवाहित तथा अविवाहित महिलाहरू शिवमन्दिर अथवा ठूलो चौरमा भेला भएर दिनभरि नाचगान गर्छन् । यस दिन महिलाहरू राता लुगा र गहनामा सजिएका हुन्छन् । कन्याहरू पनि व्रत र नाचगानमा सरिक हुन्छन् । दिनभरि निराहार व्रत बसेका महिलाहरू साँझ भगवान् शिवको पूजा गरेर कन्यालाई टिका लगाई दक्षिणा दिएर फलाहार गर्दछन् ।
धार्मिक विश्वास :
       तिज हरेक वर्ष भाद्र शुक्ल तृतीयाका दिन मनाइन्छ । अघिल्लो रात अर्थात् द्वितीयाका दिन दर (स्वादिष्ट भाेजन) खाइन्छ । तिजका दिन व्रत बसिन्छ । चौथीका दिन स्नान गरी व्रतको पारण (उपवासकाे दाेस्राे दिन गरिने प्रथम भाेजन) गरेर खाना खाइन्छ भने तिजको तेस्रो दिन अर्थात् ऋषिपञ्चमीका दिन व्रतालु महिलाहरूले ३६५ वटा दतिवनले दाँत माझेर माटो लेपन गरी स्नान गर्छन् । अपामार्ग लेपनले छालामा हुने एलर्जी हटाउँछ भन्ने विश्वास गरिन्छ । पञ्चमीका दिन अरुन्धतीसहित कश्यप, अत्रि, भारद्वाज, विश्वामित्र, गौतम, जमदग्नी तथा वशिष्ठ ऋषिको पूजा गरी हलोले नजोतेको अन्नको भात र एक सुइरे भएर उम्रने कर्कलो आदिको तरकारी वा एकदलीय अन्न मात्र खाइन्छ । यो दिन श्रीमानले पकाएको भोजन खाए आपसी आत्मीयता एवं सद्भाव बढ्ने विश्वास पनि रहेकाे छ ।
          तिज पर्वकाे विभिन्न धार्मिक, सांस्कृतिक, सामाजिक, परम्परागत महत्त्व रहेकाे छ । निराहार व्रत बस्दा पेट खालीभई सफा हुने, दर खाँदा पाैष्टिक तत्व प्राप्त भई शरीरमा राेग प्रतिराेध क्षमता (Immunity) बढ्ने, दतिवन तथा अपामार्गले छाला सम्बन्धी राेगहरूबाट बचाउँछ । यसका साथै घर परिवार, छिमेक, माइती पक्षसँग प्रगाढ सम्बन्ध बनाउनमा तिज पर्वले महत्त्वपूर्ण भूमिका खेलेकाे छ । हामी हिन्दुहररूका वर्षभरि नै विभिन्न चाडपर्व हुन्छन् । यस्ता चाडपर्वहरू तडकभडकका साथ नमनाएर सभ्य र भव्य तरिकाले मनाऔं । हरितालिका तिज २०८१ काे सम्पूर्णमा हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्दछु ।
धन्यवाद !
मान सिंह धामी (भाैनबाटी)
उप-प्राध्यापक
कैलाली बहुमुखी क्याम्पस धनगढी
मालिकार्जुन गाउँपालिका हुनैनाथ – ४ गाेठ्युडी (काेटबुङ्गा), दार्चुला
Leave A Reply

Your email address will not be published.