धनगढी । कैलाली बहुमुखी क्याम्पसमा विश्वविद्यालय स्तरिय प्रथम केएमसी अदालत अभ्यास प्रतियोगिता सुरु भएको छ । क्याम्पसमा कानून संकायका तर्फबाट संविधान दिवस २०८१ को अवसरमा उक्त प्रतियोगिता आयोजना गरिएको हो।
वुधबार सुदुरपश्चिम विश्वविद्यालयका उप–कुलपति प्रा.डा.हेम राज पन्त, रजिष्ट्रार प्रा.यज्ञराज पाठक, मानविकी तथा कानून संकायका डीन प्रा. मुकुन्द कलौनी, कैलाली बहुमुखी क्याम्पसका क्याम्पस प्रमुख प्रा.तोयराज भट्ट लगायत सहायक क्याम्पस प्रमुख र प्राध्यापक तथा कानून संकायका विद्यार्थीहरुको उपस्थितिमा क्याम्पसमा रहेको अभ्यास अदालतको समुद्घाटन गर्दै उक्त प्रतियोगिताको सुभारम्भ गरियो ।
विद्यार्थीहरुमा न्यायको क्षेत्रमा आवश्यक पर्ने वकालतसंग सम्बन्धित तर्क, वहसकला, विवेचना तथा व्यवहारिक ज्ञान निमार्ण गर्नका लागि अभ्यास अदालत महत्वपूर्ण कडी रहेको क्याम्पसका कानून संकायका विभागीय प्रमुख उप–प्रध्यापक पदम बहादुर पालले बताउनुभयो ।
पर्याप्त आर्थिक स्रोत र विज्ञताको अभावका बाबजुत उक्त कार्यक्रम आयोजना गर्दा पनि सबैको सहभातिा र हौसलाले प्रेरणा थपिएको उहाँले बताउनुभयो ।
त्यसैगरी समुद्घाटन कार्यक्रममा बोल्दै स्ववियुसभापति यमराज जोशीले विद्यार्थीहरुको सिकाइलाई अब्बल बनाउन र उनिहरुको व्यवहारिक सिपमा निखारता ल्याउन विश्वविद्यालयले पनि यस्ता अतिरिक्त क्रियाकलापमा जोड दिन आग्रह गर्नुभयो । त्यस्तै कैलाली बार एसोसिएसनका अध्यक्ष ईन्द्र प्रसाद लेखकले आफ्नो भावि कार्ययोजना अनुरुप समाजमा दक्ष कानून व्यवसायीका रुपमा स्थापित गराउन यस्ता अभ्यासलाई निरन्तरता दिन सुझाव दिनुभयो ।
कार्यक्रममा बोल्दै सुदुरपश्मि विश्वविद्यालयका मानविकी तथा कानून संकायका डीन प्राध्यापक मुकुन्द कलौनीले अभ्यास अदालत प्रतियोगिता अनुकरणीय रहेको भन्दै यसले विश्वविद्यालय, क्याम्पस र विद्यार्थीहरुबिचमा मैत्रीय सम्बन्ध स्थपना गर्न सघाउने बताउनुभयो । विश्वविद्यालयका रजिष्ट्रार प्रा.यज्ञराज पाठकले विश्वविद्यालयका तर्फबाट यस पहलप्रति समर्थन जनाउदै प्रतियोगी विद्यार्थीहरुलाई शुभकामना समेत व्यक्त गर्नुभयो ।
सुदुरपश्चिम विश्वविद्यालयका उप–कूलपति प्रा.डा. हेमराज पन्तले यस्ता कार्यक्रमले विद्यार्थी र प्राध्यपकहरुमा आत्मविश्वास बढाउनुका साथै प्रेरणा प्राप्त हुने भएकाले आवधिक रुपमा आयोजना गर्न अग्रह गर्नुभयो । त्यसैगरी क्याम्पस प्रमुख प्रा.तोयराज भट्टले विगतदेखि नै दक्ष र उत्कृष्ट जनशक्ति उत्पादन क्याम्पसको प्रमुख उद्धेश्य र पहिचान भएकोले क्याम्पसमा रहेका यावद समस्यालाई हल गर्दै लैजाने आश्वासन दिनुभयो ।
प्रतियोगितामा एक समूहमा ३ जना रहने गरी १२ टिम सहभागी छन जसमा कैलाली बहुमुखी क्याम्पसका तर्फबाट ८ आटा र केन्द्रिय क्याम्पसबाट ४ ओटा समुहको सहभागिता रहेको छ । प्रतियोगिताको प्रारम्भिक चरण असोज २ गते सम्पन्न भएको छ भने फाईनल ३ गते हुनेछ, प्रतियोगिताका विजेताहरुले मेडल, ट्रफी, प्रमाणपत्र सहित नगद रकम पनि प्राप्त गर्ने कानूून संकायका विभागीय प्रमुख पालले जानकारी दिनुभयो ।
यस अवसरमा कैलाली बहुमुखी क्याम्पसको मुखपत्र “केएमसी जर्नल” को छैठौँ संस्करणको नयाँ अंक पनि विमोचन गरिएको छ । कैलाली बहुमुखी क्याम्पस, स्वतन्त्र विद्यार्थी युनियन र कानून संकायको समन्वयमा आयोजना गरिएको यस अभ्यास अदालत प्रतियोगिता जस्ता गुणस्तरिय अतिरिक्त अभ्यासले कानुन तथा न्यायका क्षेत्रमा विद्यार्थीहरु आकर्षित गर्ने तथा न्याय क्षेत्रले दक्ष जनशक्ति प्राप्त गर्नुका साथै प्रभावकारी बहसका लागि समय व्यवस्थापन, तथ्यको बोध, उपयुक्त कानुन तथा नजीरको प्रयोग र मौखिक प्रस्तुति जस्ता सिप तथा कौशलमा निखारता ल्याउने भएकाले यस्ता अनुकरणीय अभ्यासहरु विश्वविद्यालय र क्याम्पसमा भईरहनुपर्दछ ।