विश्वविद्यालय स्तरिय प्रथम केएमसी अभ्यास अदालत प्रतियोगिता सम्पन्न

धनगढी। कैलाली बहुमुखी क्याम्पसमा कानून संकायद्धारा आयोजित विश्वविद्यालय स्तरिय प्रथम केएमसी अभ्यास अदालत प्रतियोगिता सम्पन्न भएको छ ।

संविधान दिवसको अवसरमा हिजो वुधबार देखि सुरु भएको दुईदिने उक्त प्रतियोगितामा केएमसी कै विद्यार्थीहरु प्राप्ती भट्ट, पदम बहादुर साउद र चरित्र बुढाको समुह प्रथम भएको छ । त्यसैगरी, ओम प्रकाश वस्ती र कुबेर राज जैशीको समुह द्धितीय, गणेश कुमार खत्री, यज्ञश्वरी बोगटी र पुजा शाहको समुह तृतीय र पंकज भट्ट, समिक्षा बिष्ट र गजेन्द्र बुढाको समुहले सान्त्वना स्थान प्राप्त गरेको छ ।

प्रथम हुने समुहलाई रु.१५ हजार, त्यसैगरी दोस्रो हुने समुहलाई रु.१० हजार, तेस्रो हुने समुहलाई रु. ५ हजार र सान्त्वना हुने समुहलाई रु. ३ हजार ट्रफी, मेडल, प्रमाण–पत्र सहित पुरस्कार प्रदान गरिएको छ । त्यस्तै सार्वोत्कृष्ट वक्ताको अवार्ड प्राप्ती भट्टले प्राप्त गर्नुभयो भने सार्वोत्कृष्ट शोेधकर्ताको अवार्ड पुजा शाहले प्राप्त गर्नुभयो । उहाँहरुलाई पनि रु.२ हजार सहित ट्रफी र प्रमाणपत्र प्रदान गरिएको छ ।

उक्त कार्यक्रम सुदुरपश्चिम प्रदेशका आन्तरिक मामिला तथा कानून मन्त्री हिरा बहादुर सार्कीको प्रमुख अतिथ्यतामा सम्पन्न भएको हो । कार्यक्रममा बोल्दै उहाँले विद्यार्थीहरुलाई कानूनी सहायता कार्यक्रम मार्फत क्षमता अभिवृद्धिकालागि मन्त्रालयबाट सघाउने प्रतिवद्धता व्यक्त गर्नुभएको छ । त्यसैगरी आगामी दिनमा कानून संकाय र कैलाली बहुमुखी क्याम्पसको विकास र विस्तारका लागि पूर्ण रुपमा सहयोग गर्ने बताउनुभएको छ ।

यस्तै सुदुरपश्चिम प्रदेशका मुख्य न्यायधिवक्ता ठेकेन्द्रराज जोशीले विद्यार्थीहरुले यस्ता अभ्यास मार्फत व्यवहारिक ज्ञान आर्जन गर्न सहज वातावरण पाउने भएकोले लगनशील हुन विद्यार्थीहरुलाई आग्रह गर्नुभयो ।

यसैबिच राष्ट्रिय मानव अधिकार आयोग सुदुरपश्चिम प्रदेशका प्रमुख प्रकाश भट्टले कानून संकायका विद्यार्थीहरुलाई मानव अधिकार आयोगको परियोजना मार्फत स्थानीय तहको न्यायिक संयन्त्रसंग काम गर्न उनिहरुलाई दुतका रुपमा पठाउन आफुहरु तयार रहेको बताउनुभएको छ ।

कार्यक्रमको सभापतित्व ग्रहण गर्नुभएका कैलाली बहुमुखी क्याम्पसका सहायक क्याम्पस प्रमुख प्राध्यापक डा.लोक बहादुर बिष्टले कानून संकायका लागि छुट्टै पुस्तकालय र अभ्यास अदालत सहितको भवन निर्माणका लागि पहल थाल्ने बताउनुभएको छ ।

Leave A Reply

Your email address will not be published.