धनगढी । कैलाली बहुमुखी क्याम्पसमा कानून संकायमा अध्ययनरत विद्यार्थीहरुलाई स्थानीय तहमा मानव अधिकार दुतका रुपमा पठाइने भएको छ ।
राष्ट्रिय मानवअधिकार आयोग सुदुरपश्चिम प्रदेशसंगको समन्वयमा न्याय, कानून र मानव अधिकारसंग सम्बन्धित विविध विषयहरुको सैद्धान्तिक र व्यवहारिक प्रयोजनका लागि क्याम्पसमा अध्ययनरत कानून संकायका ३१ जना विद्यार्थीहरुलाई दशैँ तिहार विदाको अवसरमा सुदुरपश्चिम र कर्णाली प्रदेशका विभिन्न स्थानीय तहमा पठाउन लागिएको कानून संकायका विभागीय प्रमुख पदम बहादुर पालले जानकारी दिनुभयो ।
नेपाल सरकारको मानव अधिकार सम्बन्धि पाचौँ राष्ट्रिय कार्ययोजना (२०७७/७८–२०८१/८२)को अन्तिम सत्र चलिरहेकोले प्रदेश सरकार र स्थानीय सरकारले मानव अधिकारका क्षेत्रमा गर्नुपर्ने काम र त्यसको कार्यान्वयनको अवस्थाबारे अध्ययन गर्न विद्यार्थीहरुलाई मानव अधिकार दुतका रुपमा पठाउन लागिएको उहाँले बताउनुभयो ।
विद्यार्थीहरुले मानव अधिकारको सुनिश्चितता र कानून कार्यान्वयनको अवस्थाबारे अध्ययन गरि प्रतिवेदन तयार पारेर क्याम्पस र राष्ट्रिय मानव अधिकार आयोगमा पेश गर्ने छन।
यसले मानव अधिकार संरक्षणका लागि स्थानीय तहमा भईरहेका प्रयास र आयोगका काम कार्वाहीको प्रभावकारिताबारे थाहा पाउनुका साथै आयोगको आगामी कार्ययोजना निमार्णका लागि पनि सघाउ पुग्ने तथा व्यवहारिक ज्ञानको पक्ष पनि सुधार हुने विद्यार्थीहरुको प्रतिक्रिया छ ।