नेपालीहरुको महान चाड बडादसैँ आज मनाईदैँ, टीकाको शुभ साइत  ११ः५३ मा

धनगढी । नेपालीहरुको महान चाड बडादसैँको दिन आज बिहीबार मान्यजनहरूबाट टीका र जमरा ग्रहण गरेर मनाईदैँ छ । विजया दशमीको दिन बिहानै देवी बिसर्जन गरी मान्यजनहरूबाट टीका र जमरा ग्रहण गर्ने परम्परा रहेको छ ।

टीका लगाउने व्यक्ति पूर्व र लगाइदिने व्यक्ति पश्चिम फर्किनुपर्ने छ । आज गुरु पुरोहित, हजुरबुबा, हजुरआमा, बा, आमा, मान्यजन तथा ठूलाबडाको हातबाट नव दुर्गा भवानीको टीका, जमरा तथा प्रसाद थापी यश, ऐश्वर्य वृद्धि, काम गर्ने क्षमतामा वृद्धि एवं दीर्घायु प्राप्त होस् भनी आशीर्वाद लिइन्छ ।

आज नभ्याउनेले कोजाग्रत पूर्णिमासम्म मान्यजनबाट टीका ग्रहण गर्न सक्नेछन् । आजदेखि पूर्णिमासम्म मान्यजनबाट दुर्गाको प्रसादका रूपमा टीका ग्रहण गर्दा अन्य फूलका साथै घटस्थापनाका दिनमा वैदिक विधिपूर्वक राखिएको पहेँलो जमरालाई समृद्धिको प्रतीकको रूप मानी लगाउने गरिन्छ ।

नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले विजया दशमीको टीकाको शुभ साइत  ११ः५३ बजे रहेको जनाएको छ । समितिका अनुसार यस वर्षको विजया दशमीका दिन देवी बिसर्जन गर्ने शुभसाइत बिहान ९ः२३ बजे रहेको छ।

Leave A Reply

Your email address will not be published.