सुदूरपश्चिममा वैवाहिक बलात्कार मौन रूपमा बढ्दै

धनगढी। महिला पुनर्स्थापना केन्द्र ओरेक सुदूरपश्चिमले सार्वजनिक गरेको ताजा त्रैमासिक प्रतिवेदनले सुदूरपश्चिम प्रदेशमा वैवाहिक सम्बन्धभित्र हुने यौन हिंसाका घटना मौन तर निरन्तर रूपमा बढ्दै गएको देखाएको छ। संस्थाले यो अवस्थालाई समाजमा वैवाहिक बलात्कारलाई सामान्यीकृत गरिँदै गएको चिन्ताजनक परिणामका रूपमा व्याख्या गरेको छ।

जुलाई २०२४ देखि जुन २०२५ सम्मको अवधिमा ओरेकले कार्यक्षेत्रका जिल्लाहरूमा २१ वटा वैवाहिक बलात्कारका घटना अभिलेखिकरण गरेको छ। तीमध्ये कैलाली, कञ्चनपुर र बाजुरा जिल्लाबाट मात्रै चालु वर्षको जनवरीदेखि सेप्टेम्बर २०२५ भित्र नौ वटा घटना रेकर्ड भएका छन्। संस्थाद्वारा उद्धृत अध्ययन अनुसार, ग्रामीण नेपालका १२९६ विवाहित महिलामध्ये ४६ प्रतिशतले श्रीमानबाट यौन हिंसाको अनुभव गरेको बताएकी छन् भने अर्को अध्ययनमा सहभागी ३६२ महिलामध्ये ५६ प्रतिशतले वैवाहिक बलात्कार भोगेको तथ्य सार्वजनिक भएको छ।

ओरेक सुदूरपश्चिमकी संयोजक सपना थापाका अनुसार वैवाहिक बलात्कार केवल व्यक्तिगत घटना होइन, यो पितृसत्तात्मक सोच र महिलाको शरीरमाथि पुरुषको नियन्त्रण गर्ने मानसिकताको परिणाम हो। “सहमति बिना हुने यौन सम्पर्कलाई अझै पनि ‘वैवाहिक कर्तव्य’ वा ‘श्रीमानको अधिकार’ को रूपमा बुझिँदा महिलाहरू मौन रहन बाध्य छन्,” थापाले बताउनुभयो।

ओरेकका तथ्यांक अनुसार सुदूरपश्चिम प्रदेशमा महिलामाथि हुने हिंसा अब सार्वजनिक स्थलभन्दा बढी आफ्नै घरभित्र केन्द्रित हुन थालेको छ। कैलाली जिल्लाबाट मात्रै यस अवधिमा २८ वटा लैङ्गिक हिंसाका घटना अभिलेखिकरण भएका छन्। तीमध्ये घरेलु हिंसा ३९.३ प्रतिशत ११ वटा, यौनजन्य हिंसा १७.९ प्रतिशत ९५ वटा, हत्या तथा प्रयास १० .७ प्रतिशत ९३ वटा, मानव बेचबिखन तथा प्रयास १०.७ प्रतिशत ९३ वटा०, आत्महत्या प्रयास ७.१ प्रतिशत ९२ वटा, सामाजिक हिंसा ३.६ प्रतिशत ९१ वटा र अन्य हिंसाका ३ वटा घटना रहेका छन्। यी तथ्यांकले स्पष्ट देखाउँछन् कि महिलामाथिको हिंसा अब पारिवारिक र वैवाहिक सम्बन्धभित्र सीमित हुँदै गएको छ।

प्रतिवेदनमा समावेश प्रतिनिधिमूलक घटनाहरूले पनि वैवाहिक बलात्कारको गहिरो स्वरूप उजागर गर्छन्। कैलालीकी २५ वर्षीया ऐना (नाम परिवर्तित ) १४ वर्षकै उमेरमा विवाह बन्धनमा बाँधिएकी थिइन्। श्रीमानको मादक पदार्थ सेवन, जबर्जस्ती यौन सम्पर्क, अस्वीकार गर्दा हुने कुटपिट र यौनाङ्गमा चोट पु¥याउने व्यवहारका कारण उनी निरन्तर हिंसाको चक्रमा फसिन्। अहिले धनगढीमा सानो पसल सञ्चालन गर्दै आफ्ना छोराको पालनपोषण गरिरहेकी ऐना भन्छिन्, “मेरो शरीरमाथि मेरो अधिकार छैन भन्ने महसुस हुँदा बाँच्नु बोझ भयो। विवाह मेरो लागि संरक्षण होइन, निरन्तर यातना बन्यो।”

त्यस्तै, कञ्चनपुरकी दृष्टि परिवर्तित नाम ११ वर्षअघि आफ्नै गाउँका युवकसँग विवाह गरेकी थिइन्। श्रीमानले नियमित रक्सी सेवन गर्ने, काम नगर्ने र सानो विषयमा पनि कुटपिट गर्ने गर्थे।

“मैले यौन सम्बन्धको लागि अस्वीकृति जनाउँदा उनी अझ हिंस्रक बन्थे। मेरो शरीर उनको अधिकार हो भन्ने सोचले म थिचिएकी थिएँ,” उनले भनिन्।

निरन्तर हिंसाले उनको शारीरिक र मानसिक स्वास्थ्यमा गम्भीर असर पु¥यायो र अहिले उनी सम्बन्ध विच्छेदको प्रक्रियामा छिन्।

ओरेकले प्रतिवेदनमा उल्लेख गरेको छ कि कानुनी रूपमा वैवाहिक बलात्कार अपराध भए पनि कार्यान्वयनमा कमजोरी, पीडितमैत्री दृष्टिकोणको अभाव र सामाजिक दबाबका कारण धेरै घटना उजागर हुन सकेका छैनन्।

 

Leave A Reply

Your email address will not be published.