भादा होमस्टे पर्यटकका लागी उत्कृष्ट गन्तब्य स्थल बन्दै

धनगढी, । धनगढी उपमहानगरपालिका–१६ स्थित भादा गाउँमा सञ्चालन भइरहेको थारु होमस्टे आन्तरिक तथा बाह्य पर्यटकहरूको प्रमुख आकर्षणको केन्द्र बन्दै गएको छ। थारु समुदायको मौलिक कला, संस्कृति, परम्परा तथा जीवनशैलीको संरक्षण गर्दै पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले नेपाल भ्रमण वर्ष २०११ को अवसरमा स्थापना गरिएको होमस्टेले पछिल्ला वर्षहरूमा उल्लेखनीय लोकप्रियता हासिल गरेको छ।

थारु होमस्टे गाउँ भादा पर्यटन विकास तथा व्यवस्थापन समितिका अध्यक्ष लक्ष्मीनारायण चौधरीका अनुसार सुरुवातमा १७ घरमा सञ्चालन भएको होमस्टे हाल विस्तार भई अटेच बाथरुमसहित २० घरमा सञ्चालनमा रहेको छ। पर्यटकलाई सहज र गुणस्तरीय सेवा प्रदान गर्न होमस्टेको पूर्वाधार सुधार तथा विस्तारलाई प्राथमिकता दिइएको उहाँले बताउनुभयो।

थारु समुदायको कला, संस्कृति, भेषभूषा, रहनसहन तथा परम्परागत खानाका परिकारको अनुभव लिन चाहने पर्यटक र अनुसन्धानकर्ताका लागि भादा गाउँ विशेष गन्तव्य बनेको छ। विशुद्ध थारु समुदायको बसोबास रहेको यस गाउँमा प्रत्येक वर्ष पुस १७ गते थारु होमस्टे महोत्सव आयोजना हुँदै आएको छ।

होमस्टे सञ्चालक नरेश चौधरीका अनुसार समयको मागअनुसार पर्यटकलाई आधुनिक सुविधा उपलब्ध गराउन प्रत्येक होमस्टेमा अटेच बाथरुमको व्यवस्था गरिएको छ। “पर्यटकले बाल्टिनमा पानी बोकेर चर्पी जानुपर्ने वा बाहिर नुहाउनुपर्ने अवस्था अब छैन। हामीले सुविधायुक्त सेवा विस्तार गरेका छौं,” उहाँले बताउनुभयो।

समितिका कोषाध्यक्ष पदम चौधरीले होमस्टे सञ्चालनपछि थारु समुदायको मौलिक कला, संस्कृति, परिकार तथा जीवनशैलीको संरक्षण र प्रवर्द्धनमा टेवा पुगेको बताउँदै यसले स्थानीयको आयआर्जन तथा जीविकोपार्जनमा समेत सकारात्मक प्रभाव पारेको उल्लेख गर्नुभयो।

पर्यटकलाई मनोरञ्जन प्रदान गर्न स्थानीयहरूले सखिया, झुम्रा, मघौटा, लठ्ठी तथा बैठक्की नाचजस्ता मौलिक सांस्कृतिक प्रस्तुति प्रदर्शन गर्दै आएका छन्। साथै ढिक्री, खरिया, फुलौरी, अण्डीक भात, खुर्मा, कचरीक बरिया, घोंघी, गङटा, सिध्रा, महुँवाको रक्सी तथा चामलको रक्सीलगायत परम्परागत थारु परिकारको स्वाद चखाउने व्यवस्था गरिएको छ।

त्यसैगरी, पर्यटकलाई गाउँ अवलोकन गराउन थारु समुदायको परम्परागत लहुरो (गोरुगाडा) मा सयर गराउने व्यवस्था गरिएको छ। गाउँ नजिकै रहेको जोगिनिया तालमा डुंगा सयरको सुविधा उपलब्ध छ भने करिब डेढ किलोमिटरको दूरीमा रहेको कोइलही ताल पनि पर्यटकहरूको अर्को आकर्षणको केन्द्र बनेको छ, जहाँ दैनिक रूपमा ठूलो संख्यामा पर्यटक आउने गरेका छन्।

यद्यपि, होमस्टे सञ्चालक तथा स्थानीय बासिन्दाले सरकारले अपेक्षाअनुसार सहयोग नगरेको गुनासो गरेका छन्। खानेपानी, सडक तथा अन्य पूर्वाधार विकासका साथै थारु समुदायको मौलिक संस्कृति संरक्षणका लागि सरकारी पहल आवश्यक रहेको उनीहरूको भनाइ छ।

कैलाली बहुमुखी क्याम्पसका विद्यार्थीहरू अध्ययन भ्रमणका क्रममा भादा गाउँ पुगेका बेला होमस्टे सचिव चेतराम चौधरीले गाउँको मुख्य समस्या खानेपानी र पूर्वाधार विकास रहेको उल्लेख गर्दै पर्यटन क्षेत्रको दीर्घकालीन विकासका लागि सरकारको विशेष ध्यान आवश्यक रहेको बताउनुभयो।

Leave A Reply

Your email address will not be published.