धनगढीः काठमाण्डौँ अन्तर्राष्ट्रिय पर्वतीय चलचित्र महोत्सव (किम्फ) को संस्करण ‘घुम्ती किम्फ’ को सुदूरपश्चिम यात्रा सुरु भएको छ।
आज सोमबार कैलाली बहुमुखी क्याम्पसको मेगा हलमा क्याम्पस प्रमुख सहप्राध्यापक डा.लोक बहादुर बिष्ट र संस्थाकी अध्यक्ष रामयता लिम्वुले चलचित्र महोत्सवको उद्घाटन गर्नुभएको हो । उद्घाटन पश्चात सुदूरपश्चिम र कर्णालीमा प्रचलित छाउपडी प्रथामा आधारित वृत्तचित्र ‘छउ’ प्रदर्शन गरेर घुम्ती किम्फको आरम्भ गरिएको थियो।
किम्फ फाउण्डेसनकी अध्यक्ष लिम्वुले चलचित्र महोत्सवको उद्धेश्य केवल चलचित्र र वृत्तचित्र प्रस्तुत वा प्रदर्शन गर्ने मात्र नभएर सामाजिक विषयवस्तुमा आधारित वहस, पैरवी गर्ने अवसर सिर्जना गर्ने र विचारको आदानप्रदान गर्नु रहेको बताउनुभयो ।
“नेपालका विशेष मुद्दाहरुमा काठमाण्डौँ बाहिर पनि छलफल गर्ने गरि हामी सुदूरपश्चिम यात्रामा आएका छौँ” उहाँले भन्नुभयो ।

हाम्रो समाजमा र दैनिक जीवनमा घटिरहेका यथार्थ घटनाहरुमा आधारित विषयवस्तुहरु देशका विभिन्न वर्ग र भूगोलमा चलचित्रका माध्यमबाट पुर्याउन र लक्षित वर्गका विषयवस्तु उठान गर्न घुम्ति किम्फले खेलेको भुमिका महत्वपूर्ण रहेको कैलाली बहुमुखी क्याम्पसका क्याम्पस प्रमुख बिष्टले बताउनुभयो ।
सुदूरपश्चिमका चार जिल्ला कैलाली, कञ्चनपुर, डडेलधुरा र अछाममा चलचित्र महोत्सवको यो संस्करण आयोजना हुने किम्फ फाउण्डेशनले जनाएको छ। धनगढीमा आजबाट सुरु भएको किम्फ चलचित्र महोत्सवको पहिलो दिन क्याम्पस र धनगढीका विभिन्न विद्यालयका एक हजार भन्दा बढी दर्शक विद्यार्थीहरुले अवलोकन गरेका छन्।
यो फेस्टिभल मंसिर ८ गतेदेखि १९ गतेसम्म सुदूरपश्चिमका विभिन्न स्थानमा सञ्चालन हुने आयोजक किम्फ फाउन्डेसनले जनाएको छ। फेस्टिभलमा सामाजिक विषयवस्तुमा आधारित छोटो फिल्म र डकुमेन्ट्रीहरु प्रदर्शनका साथै कार्यशाला, बहस र छलफलका सत्रसमेत आयोजना गरिने जनाइएको छ।

आयोजकका अनुसार यी सत्र लैंगिक हिंसाविरुद्धको १६ दिने अभियानसँग मेल खाने हिसाबले यो संस्करण तय गरिएको हो। यस कार्यक्रमले सुदूरपश्चिमका युवा, फिल्मकर्मी र समुदायलाई चलचित्र मार्फत सामाजिक चेतना बढाउने अवसर प्रदान गर्ने आयोजकले जनाएको छ।