धनगढी । सुदूरपश्चिम विश्वविद्यालयअन्तर्गत धनगढीस्थित कैलाली बहुमुखी क्याम्पस र अत्तरियास्थित दुर्गालक्ष्मी बहुमुखी क्याम्पसबीच शैक्षिक तथा अनुसन्धानात्मक सहकार्य अभिवृद्धि गर्ने उद्देश्यले द्विपक्षीय सम्झौता छ।
दुवै क्याम्पसका अनुसन्धान व्यवस्थापन केन्द्र (रिसर्च म्यानेजमेन्ट सेल) बीच सम्पन्न उक्त सम्झौतापत्रमा कैलाली बहुमुखी क्याम्पसका अनुसन्धान व्यवस्थापन केन्द्रका प्रमुख तथा सहायक क्याम्पस प्रमुख सहप्राध्यापक डा. मोहन सिंह साउद र दुर्गालक्ष्मी बहुमुखी क्याम्पसका अनुसन्धान व्यवस्थापन केन्द्रका प्रमुख सहप्राध्यापक हरिकृष्ण कडायतले हस्ताक्षर गर्नुभएको हो।
सम्झौतामा हस्ताक्षर हुने कार्यक्रममा कैलाली बहुमुखी क्याम्पसका क्याम्पस प्रमुख सहप्राध्यापक डा. लोकबहादुर बिष्ट तथा दुर्गालक्ष्मी बहुमुखी क्याम्पसका क्याम्पस प्रमुख डा. नरेन्द्र बहादुर ऐरको उपस्थिति रहेको थियो।
सम्झौताअनुसार दुवै क्याम्पसबीच अनुसन्धानमूलक गतिविधि सञ्चालन, संयुक्त अनुसन्धान परियोजना, विद्यार्थी तथा प्राध्यापक आदान–प्रदान, शैक्षिक अन्तरक्रिया, गोष्ठी, सेमिनार तथा क्षमता अभिवृद्धिसम्बन्धी कार्यक्रमहरू सञ्चालन गरी आपसी सहकार्यलाई सुदृढ बनाइनेछ।
कैलाली बहुमुखी क्याम्पसका क्याम्पस प्रमुख सहप्राध्यापक डा. लोकबहादुर बिष्टज्यूले उक्त सम्झौताले दुवै क्याम्पसका विद्यार्थी तथा प्राध्यापकहरूको शैक्षिक विकास र अनुसन्धान क्षमताको अभिवृद्धिमा महत्वपूर्ण योगदान पुग्ने विश्वास व्यक्त गर्नुभयो।
उहाँले शैक्षिक गुणस्तर सुधार तथा अनुसन्धानलाई प्रभावकारी बनाउने उद्देश्यले यस्ता सहकार्यका कार्यक्रमहरू निरन्तर रूपमा सञ्चालन गरिने बताउनुभयो।
यस सम्झौताले दुवै क्याम्पसबीच शैक्षिक तथा अनुसन्धानात्मक सम्बन्धलाई थप प्रगाढ बनाउने र अनुसन्धान तथा शैक्षिक गतिविधिहरूलाई व्यवस्थित, प्रभावकारी र परिणाममुखी रूपमा अघि बढाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ।
उक्त सम्झौता दुई वर्षको अवधिका लागि गरिएको हो भने अवधि समाप्त भएपछि आपसी सहमतिमा नवीकरण गरिने जनाइएको छ।