जिल्ला । कालापानी, लिपुलेक र लिम्पियाधुरा नभइदिएकाे भए राजनीतिक नेताहरूकाे चुनावी एजेण्डा नै ओझेलमा पर्ने थियाे । अपी र नाम्पा आसपासका क्षेत्रहरूलाई समेटेर नै अपी नाम्पा संरक्षण क्षेत्र घाेषित गरिएकाे हाे । उक्त क्षेत्र अमूल्य जडिबुटी विशेषगरि यार्चागुम्बाकाे प्रचूर सम्भावना बाेकेकाे क्षेत्र हाे । यार्सागुम्बा त एक बहुउपयाेगी जडिबुटी नै भैहाल्याे । यसका अलावा उक्त क्षेत्र अन्य जडिबुटी तथा वन्यजन्तुकोलागि पनि प्रचलित रहेकाे छ । सुदूरपश्चिम प्रदेशको दार्चुला जिल्लामा पर्ने अपी नाम्पा सरंक्षण क्षेत्रको पूर्वमा बझाङ जिल्ला, पश्चिममा महाकाली नदी उत्तरमा चीनको स्वशासित क्षेत्र तिव्वत र दक्षिणमा लास्कु खोला र नौगाड खोला रहेका छन् । नेपाल सरकारले २०६७ आषाढ २८ गते राजपत्रमा सूचना प्रकाशित गरी यस संरक्षण क्षेत्रको स्थापना गरेको हो । वातावरण सुधारमा उल्लेखनीय योगदान पु-याउने, प्राकृतिक स्रोत र जडिबुटीको संरक्षण तथा उपयोग गर्ने र पर्यटन विकास गरी विकासका दृष्टिकोणले पछि परेको दार्चुला जिल्लाको उत्तरी क्षेत्रका तत्कालिन २१ वटा गाविसहरूकाे समुच्च विकास गर्ने ध्येयकासाथ यस संरक्षण क्षेत्रको स्थापना गरिएको हो । २०६६ मंसिर १६ गते जलवायु परिवर्तनको सम्बन्धमा विश्व समुदायको ध्यानाकर्षण गर्न सगरमाथा राष्ट्रिय निकुञ्जको कालापत्थरमा मन्त्रिपरिषद्को बैठक बसेको थियो । सोही बैठकले यो संरक्षण क्षेत्रको घोषणा गरेको हो ।
समुद्री सतहबाट ५३८ मि. देखि ७१३२ मिटर सम्म उचाईमा अवस्थित यस अपी नाम्पा संरक्षण क्षेत्र जैविक विविधताकाे दृष्टिकोणले अत्यन्तै महत्त्वपूर्ण र भरिपूर्ण छ । यश क्षेत्रमा अपी हिमाल (७१४२ मि.), नाम्पा हिमाल(६७५७ मि.), व्यास हिमाल (६६७० मि.) लगायत धेरै उच्च हिमशिखरहरू छन् भने संरक्षण क्षेत्र भारतीय प्लेट र उत्तरी किनारा तिब्बतीय प्लेटसँग ठाेकिने क्रम अझै जारी भएकाेले यहाँका भूभागहरू भिराला र गतिशील
छन् ।
अपी नाम्पा संरक्षण क्षेत्र जैविक विविधताको दृष्टिले अत्यन्तै महत्वपूर्ण र भरिपूर्ण छ । यस क्षेत्रमा अपी हिमाल (७,१३२ मि.), नाम्पा हिमाल (६,७५७ मि.), व्यास हिमाल (६,६७० मि.) लगायतका अन्य उच्च हिम शिखरहरू रहेका छन् । यस संरक्षण क्षेत्रको उचाई समुद्री सतहबाट ५३९ देखि ७,१३२ मिटरसम्म छ । भारत महादेश (Indian Plate) को उत्तरी किनारा तिब्बत महादेश (Chinese Plate) संग ठोकिने क्रम अझै पनि जारी भएकोले यहाँका भू–भागहरू भिराला र गतिशील छन् । यहाँ सिस्ट, चुनढुंगा र सेडिमेण्ट जस्ता चट्टानहरू हुनाले वर्षातको समयमा पहिरो जाने प्रकृतिको भू–आकृति रहेको छ । यस क्षेत्रमा ग्रेनाइट , पेगमेटाइट , फाइलाइट र क्वारजाइट चटृानहरू पनि पाइन्छन् । यस क्षेत्रमा हिँउ चितुवा, ध्वाँसे चितुवा, कस्तुरी मृग, हाब्रे, रतुवा, घोरल, नाउर, झारल, चितुवा, बाँदर, हिमाली कालो भालु, स्याल, दुम्सी, ब्वाँसो, लंगुर, थार लगायतका वन्यजन्तहुरू पाइन्छन । यस्तै डाँफे , चीर, चिल, च्याखुरा , हलसे , भ्याकुर लगायत २०० भन्दा बढी प्रजातिका चराहरू पाइन्छन् । साल, खयर, सिसौ, उत्तिस, बाँझ, गुराँस, गोब्रे सल्ला, कोलिनियल खस्रु लगायत विभिन्न किसिमका वनजंगलले यो संरक्षण क्षेत्र मनमाेहक र रमणीय बनेको छ । संरक्षण क्षेत्र भित्र बहुमूल्य जडिबुटी यार्सागुम्बा, जटामसी, सुगन्धवाल, लौठ सल्ला, बोझो, वन लसुन, पाचऔंले, कटुकी लगायतका ७५ प्रकारका जडिबुडीहरु पाइने गरेको छ ।
अपी क्षेत्रमा हिउ चितुवा, रेड पाण्डा, मृग, रतुवा, घोरल, नाउर, झरल, कालो भालु, दुम्सी, थार लगायत वन्यजन्तु पनि पाइन्छन् । जैविक विविधाताले भरिपूर्ण याे संरक्षण क्षेत्र भित्र अपी हिमाल तथा नाम्पा हिमालका साथै रिङरेपानी, कापाकोर, काली ढुंगा, बबई लगायतका चुलीहरु रहेका छन् ।
अपी नाम्पा संरक्षण क्षेत्र अमूल्य जडिबुटी तथा वन्यजन्तुकोलागि प्रख्यात त छदैछ, त्यसमा पनि उक्त क्षेत्रमा वर्षेनी लाखाैं रुपयाँकाे काराेबारहुने यार्सागुम्बाकाे विशेष महत्त्व रहेकाे छ । यस लेखमा मेराे अध्ययन तथा विभिन्न माध्यमबाट प्राप्तगरेकाे जानकारी अनुसार यार्सागुम्बाकाे बारेमा उल्लेखगर्नु सान्दर्भिक ठानेकाे छु ।
यार्सागुम्बा यस्तो जडीबुटी हो, जसमा वनस्पति र जीव दुबै हुन्छ र यो कहिल्यै पनि मर्दैन । समद्र सतहदेखि ३८ सय मीटरदेखि ४८ सय मीटरसम्मको उचाइमा यो पाइन्छ । यो अमूल्य जडीबुटी हिमाली भेकका शेर्पा भोटेहरूसँग हुने र उनीहरूले प्रयोग गर्ने गरेको पाइन्छ । त्यसैले यसलाई शेर्पाहरू ‘छातावु’ अर्थात छाता ओड्ने किरा भन्छन् । जमिनमुनि प्राणी र जमिनमाथि बनस्पति हुनाले यसलाई छाताबु भन्ने गरेको विश्वास
गरिन्छ । शेर्पा भाषामा यसलाई ‘यार्चा गुम्बु’ भनिन्छ । जसको अर्थ ‘यार्चा’ वनस्पति र ‘गुम्बु’ किरा हो । वनस्पति र किरासँगै भएको बस्तु यार्सागुम्बु भन्छन् । यस जडीबुटीको नाम दुईवटा शब्दहरूको संयोजनबाट बनेको हुन्छ ‘यार्सा’ र गुम्बा’ नेपाली प्रचलित भाषामा यसलाई यार्सागुम्बा भनिन्छ । नेपालका कतिपय स्थानहरूमा भने यसलाई जीवनबुटी र कसै कसैले त अश्लील नामले समेत चिन्ने गरेको पाइन्छ ।
यार्सागुम्बा, यो शब्द तिब्बती भाषाबाट अपभ्रंश भएर आएको हो । त्यसैले तिब्बती भाषामा यसलाई ‘यारचा कुम्भू भनिन्छ । तिब्बती भाषामा ‘यार’ भनेको वर्षा र ‘चा’ भनेको घास ‘कुम’ भनेको हिँउद तथा ‘भू’ भनेको किरा हो, अर्थात वर्षा ऋतुमा घास र हिउँदमा घाससँग जोडिने किरा हुने वस्तु भन्ने अर्थ लाग्दछ । यही तिब्बती भाषाबाट यारचा कुम्भू अपभ्रंश भएर यार्सागुम्बा भएको मानिन्छ । त्यसो त कर्णाली अञ्चलका मुगु, हुम्ला, जुम्लामा उत्तरी हिमाली भेकमा शेर्पा भोटेहरूले यार्साकिमु भन्दछन् । यार्सागुम्बाको अलावा यसलाई जीवनबुटी पनि भनिन्छ । किंवदन्ती अनुसार राम र रावणको युद्धमा लक्ष्मणलाई वाण लागेर मुर्छित हुँदा नेपालको उत्तरी हिमाली भेकबाट हनुमानले यही यार्सागुम्बा लिएर गइ लक्ष्मणलाई खुवाएर बिउँझाएका थिए भन्ने कुरा प्रचलित छ । हुन पनि यो कहिल्यै मर्दैन । बनस्पति मरे प्राणी जिवितै रहन्छ, प्राणी मरे बनस्पति जिवितै रहन्छ । बनस्पति जिवितै रहेपछि प्राणीको पुनः जन्म हुन्छ । बसन्तकुमार शर्मा ‘नेपाल’ को ‘नेपाली शब्द सागर’ मा यार्सागुम्बाको अर्थ टुप्पोतिरको भाग झारपात र जरातिरको भाग किरा प्रकारको देखिने हिमाली डुलन्ते झार, तागतका लागि सुकुटीका रुपमा काम लाग्ने डुलन्ते झार भनी नेपालीमा अर्थ लगाइएको छ ।
अपी नम्पा संरक्षण क्षेत्र नामाकरण गरिए पनि नाम अनुसारकाे काम हुन सकेकाे छैन । हुन त वर्षेनी यस क्षेत्रमा सयाैंकाे सङ्ख्यामा आान्तरिक तथा बाह्य पर्यटकहरूकाे बाक्लाे उपस्थिति हुने
गर्दछ । विश्वमै भाैगाेलिक तथा प्राकृतिक हिसाबले सुन्दर एवम् रमणीय देश नेपालकाे नजिकबाट हिमाल, पहाड अवलाेकनगर्न सकिने, हिमाल आराेहणगर्न सकिने, अमूल्य प्राकृतिक जिवनबुटी यार्सा लगायतका थुप्रै जडीबुटी प्राप्त गर्न सकिने यस क्षेत्रलाई माया नगर्ने काे हाेलान र ! यस क्षेत्रसंग जाेडिएका अपि हिमाल गाउँपालिका, व्यास गाउँपालिका, नाैगाड गाउँपालिका, दुहुँ गाउँपालिका लगायत महाकाली नगरपालिकाकाे केही भाग ओगटेकाे यस क्षेत्रमा स्थानीय सरकार प्रदेश सरकार तथा संघीय सरकारकाे ध्यान नजानु पनि दु:खद कुराे हाे । यश क्षेत्रलाई संरक्षण सम्वर्द्धन गर्न सकेमा आन्तरिक तथा बाह्य पर्यटकहरूकाे सङ्ख्यामा वृद्धि हुने तथा आर्थिक विकासमा थप टेवापुग्ने कुरालाई कसैले पनि नकार्न सक्दैन । जय हुनैनाथ स्वामी ! अस्तु !
मान सिंह धामी (औल्लेकी)
उप-प्राध्यापक :सु.प. कैलाली बहुमुखी क्याम्पस धनगढी कैलाली
स्थायी ठेगाना :मालिकार्जुन गाउँपालिका हुनैनाथ – ४ गाेठ्युडी (काेटबुङ्गा), दार्चुला