धनगढी। मध्यपश्चिम विश्वविद्यालयको तालिम इकाइले सुदूरपश्चिम प्रदेशका सामुदायिक क्याम्पसहरूका प्राध्यापक तथा शैक्षिक जनशक्तिको क्षमता अभिवृद्धि गर्ने उद्देश्यले आयोजना गरेको पाँच दिने सुदूरपश्चिम प्रदेशका सामुदायिक क्याम्पसहरूका लागि प्राध्यापक क्षमता विकास कार्यक्रम सम्पन्न भएको छ।
सुदूरपश्चिम विश्वविद्यालय र त्रिभुवन विश्वविद्यालयसँगको सहकार्य तथा विश्वविद्यालय अनुदान आयोगको सहयोगमा आयोजित उक्त कार्यक्रमको उद्घाटन गत मंगलबार सुदूरपश्चिम विश्वविद्यालयका उपकुलपति प्राध्यापक यज्ञराज पाठकले गर्नुभएको थियो।
उक्त कार्यक्रममा तालिम इकाई संयोजक कल्पना पौडेलले पाँच दिने क्षमता विकास कार्यक्रम केवल सैद्धान्तिक ज्ञानमा सीमित नभई व्यवहारिक शिक्षण–सिकाइ रूपान्तरणमा केन्द्रित रहेको बताउनुभयो।
उहाँका अनुसार कार्यक्रम कुल ६० घण्टाको रहेकोमा ४५ घण्टा कार्यशाला तथा अन्तरक्रियात्मक सत्र सञ्चालन गरिएको छ भने बाँकी १५ घण्टा सहभागीहरूले आगामी एक महिनासम्म आफ्नो कार्यक्षेत्रमा ‘एक्सन रिसर्च’ सञ्चालन गरी सिकेका सीप र अवधारणाहरूलाई कक्षाकोठामा कार्यान्वयन गर्नेछन्।
उहाँले तालिमबाट प्राप्त ज्ञान र सीपलाई व्यवहारमा रूपान्तरण गर्दै शिक्षणलाई थप प्रभावकारी, विद्यार्थी–केन्द्रित तथा समयसापेक्ष बनाउन सहभागीहरू सक्षम हुने विश्वास व्यक्त गर्नुभयो। प्राध्यापकहरूको व्यावसायिक क्षमता अभिवृद्धिलाई निरन्तरता दिने विश्वविद्यालयको योजनाअनुसार यसअघि कर्णाली प्रदेशमा समेत यस्तै कार्यक्रम सञ्चालन गरिएको जानकारी दिँदै पौडेलले अन्तर–विश्वविद्यालय सहकार्य, ज्ञान आदान–प्रदान तथा संस्थागत क्षमताको विकास कार्यक्रमको महत्वपूर्ण उपलब्धि रहेको बताउनुभयो।
“बदलिँदो समयसँगै विद्यार्थी र प्राध्यापकका आवश्यकता, सोचाइ र सिकाइका शैलीहरू परिवर्तन भइरहेका छन्,” उहाँले भन्नुभयो, “त्यसैले उच्च शिक्षाका संस्थाहरूले समयसापेक्ष, नवप्रवर्तनमुखी र प्रभावकारी सिकाइ कार्यक्रमहरूमा विशेष जोड दिन आवश्यक छ।”
त्यसैगरी तालिम इकाईकी सदस्य उपप्राध्यापक कमला तिवारी ले विगत केही वर्षयता उच्च शिक्षाको क्षेत्रमा भएका नवीन अभ्यास, प्रविधिमैत्री शिक्षण विधि तथा अन्तर्राष्ट्रिय प्रवृत्तिहरूबारे बुझ्ने अवसर कार्यक्रमले प्रदान गरेको बताउनुभयो।
उहाँका अनुसार सहभागीहरूबीच अनुभव आदान–प्रदान, समस्या पहिचान तथा समाधानका उपायमाथि गरिएको छलफलले सिक्ने र सिकाउने प्रक्रियालाई थप समृद्ध बनाएको छ।
उहाँले परम्परागत शिक्षण पद्धति र आधुनिक विद्यार्थीहरूको सिकाइ शैलीबीच देखिएको अन्तरलाई वर्तमान शिक्षाको प्रमुख चुनौतीका रूपमा उल्लेख गर्दै भन्नुभयो, “प्राध्यापकहरू अझै पनि परम्परागत ढाँचामा अध्यापन गरिरहेका हुन सक्छन्, तर विद्यार्थीहरूको सिक्ने तरिका, अपेक्षा र सूचना प्राप्त गर्ने माध्यमहरू उल्लेखनीय रूपमा परिवर्तन भइसकेका छन्। यही पुस्ताअन्तर र बुझाइबीचको दूरीलाई कम गर्नु आजको शिक्षण प्रणालीको महत्वपूर्ण आवश्यकता हो।”
उहाँले यस चुनौतीको सामना गर्न शिक्षक तथा प्राध्यापकहरू निरन्तर अद्यावधिक, दक्ष र नवप्रवर्तनप्रति खुला हुनुपर्नेमा जोड दिनुभयो। साथै मध्यपश्चिम विश्वविद्यालयले समुदायसँगको सम्बन्धलाई सुदृढ गर्दै समाजको आवश्यकता अनुसारका शैक्षिक, अनुसन्धानमूलक तथा क्षमता विकाससम्बन्धी कार्यक्रमहरू सञ्चालन गरिरहेको जानकारी दिनुभयो।
पाँच दिने तालिममा उच्च शिक्षाको दृष्टि, ध्येय र लक्ष्य, उच्च शिक्षामा पाठ्यक्रम निर्माणका सिद्धान्त, एकीकृत पाठ्यक्रम डिजाइन, पाठ्यक्रम म्यापिङ, उच्च शिक्षामा व्यावसायिक विकासका लागि ‘को–टिचिङ’ (सह–शिक्षण) मोडल, विद्यार्थी–केन्द्रित सिकाइ गतिविधि निर्माण, डिजिटल पहुँचयोग्यता र नैतिकता, अनलाइन कक्षामा विद्यार्थीको सहभागिता व्यवस्थापन लगायतका विषयमा कार्यशाला तथा अन्तरक्रियात्मक सत्र सञ्चालन गरिएका थिए।
कार्यक्रममा सुदूरपश्चिम प्रदेशका ९ ओटै जिल्लाका विभिन्न सामुदायिक क्याम्पसका ६० जना प्राध्यापक तथा शैक्षिक जनशक्तिको सहभागिता रहेको थियो। सहभागीहरूले तालिमले शिक्षण–सिकाइ प्रक्रिया, पाठ्यक्रम कार्यान्वयन तथा प्रविधिमैत्री शिक्षण अभ्यासलाई थप प्रभावकारी बनाउन महत्वपूर्ण सहयोग पुग्ने विश्वास व्यक्त गरेका छन्।