दार्चुलाको हुनैनाथ औतालेक चिनारी

 

धनगढी: सुदूरपश्चिम प्रदेशको बिकट पहाडी दुर्गम जिल्ला दार्चुलाको मालिकार्जुन गाउँपालिकाको वडा नम्बर –४ मा पर्ने प्राकृतिक सुन्दर रमणीय गाउँ हुनैनाथ हो । हुनैनाथ औतालेक एउटा धार्मिक, ऐतिहासिक, प्राकृतिक रुपले रमणीय र पर्यटकीय दृष्टिकोणले महत्त्वपूर्ण स्थान हो । प्राचीन कालमा हुनैनाथ औतालेकको नाम सेरोफेरो थियो । सायद यस क्षेत्रको चारैतिर नागबेली आकारमा रहेका पहाड श्रृङ्खला र वरपर गाउँबस्ती भएको कारण सेरोफेरो भनेको हुनु पर्दछ भन्ने बुझाइ रहेको छ । बाह्रौं सताब्दीको मध्यतिर हुनैनाथ देवताको यस क्षेत्रमा अवतार भए पछि यो ठाउँलाई अवतारीलेक भनिन थालियो । पछि अवतारीलेक शब्द अपभ्रंश भएर औतालेक नाम रहन गएको हो । हुनैनाथ औतालेकलाई औल्लेक पनि भनिन्छ । किनकी उष्ण हावापानी भएको ओजीगाड खोला किनार आसपासको क्षेत्रलाई औल र माथि चिसो हावापानी भएको टुप्पो पहाडी श्रृङ्खलालाई लेक भनिने हुँदा यी दुई शब्द औल र लेक मिलेर “औल्लेक“ नाम रहन गएको हो । मेरो बुझाईमा औतालेक र औल्लेक दुबै समानार्थी शब्द हुन । मलाई भने औल्लेक अति नै मन पर्ने शब्द भएकोले अब देखि औल्लेक भनेर नै यो लेखमा लेख्ने छु । म बिरानो नभएर औल्लेकी नै हुँ । हाल औल्लेकको गोठ्युडी भौनबाटा भन्ने ठाउँमा बसोबास भए पनि औल्लेकमा पनि मेरा पुर्खाको गडो (जमिन) हालसम्म पनि छ । हामी औल्लेकीहरू हाल जो जहाँ बसे पनि औल्लेकी भनेर नै चिनिएका छौं । औल्लेक क्षेत्र भित्र विभिन्न गाउँबस्तीहरू रहेका छन् ।
औल्लेक गाउँको सिरानमा आराध्यदेव हुनैनाथको मन्दिर रहेको छ । आराध्यदेव हुनैनाथ स्वामीलाई कोटी कोटी नमन गर्दछु । हुनैनाथ स्वामी को हुन ? यिनको महिमा, अलौकिक शक्ति आदिको बारेमा मैले यो भन्दा अगाडीको लेखमा उल्लेख गरिसकेको छु । औल्लेक भित्र विभिन्न गाउँहरू रहेका छन । मालिकार्जुन गाउँपालिका अन्तर्गत हुनैनाथ वडानम्बर –४ को क्षेत्रफल ११.६९ वर्ग किलोमिटर रहेको छ । औल्लेक भित्रका गाउँबस्तीहरू प्रायः उर्बर कृषियोग्य भूमि, जसमा पूर्वमा ऐरीछाना, दुवाचौड, गोठ्युडी, पश्चिममा गुरुम, सिलाजो, टाटिक, कोटिला, उत्तरमा चन्दनपुर, रतोडा, चोल्थी र दक्षिणमा औतालेक, क्यासिरी, जिउँछे आदि गाउँहरू रहेका छन् । वनजंगलहरू शौलेवन, सिन्याडीवन, छ्यौडावन, रानीपातलवन, पाटा, जिउँछे पत्थरखानी, हल्देरौडा, हलगढी बसनढुङ्गा वन, भूमिराज सामुदायिक वन टाटिक, हुन्शिखर सामुदायिक वन, कोटिला वन क्षेत्र रहेका छन् । हुनैनाथ औल्लेक क्षेत्र भित्र लेकाली, मध्य पहाडी र बेसी भागहरू पर्दछन् । लेकाली भाग अन्तर्गत गोठ्युडीको टुप्पो स्याउलेको डाँडा, चोल्थी, कोटिला, औतालेक, जिउँछे र गौंराबनौना गाउँहरू पर्दछन् । यी गाउँहरूमा हिउँदमा अलि बढी जाडो हुने र हलुका हिमपात समेत हुने गर्दछ । मध्य पहाडी भाग अन्तर्गत गोठ्युडीको तल्लो भाग, रतोडा, क्यासिरी गाउँहरू पर्दछन् । बेसी भागहरूमा ओजीगाड, अपडखेत, जमुना बगर, सिलाजो, टाटीक लगायतका गाउँहरू पर्दछन् ।

औल्लेक क्षेत्र भित्र पाइने विभिन्न फलफूल तथा वनस्पतिहरूमाः– बाँज, गुराँस, सल्लो, फल्याट, कटुँस, काफल, ओखर, सुन्तला, मौसमी, मोतीकाँकडी, अमृतफल (चालिसो), आरु, आरुबखडा, खुमानी, स्याउ, चिउरी, नासपाती, टुणी, धुइँयो, बेल्टो, पैंयो, दुदिलो, आँप, अमला, ओखर, कोइराल, हलुवावेद, चुक, जामीर, कागती, नासपाती, खर, खन्यो, बाँज, करमफल, भोगटे, किम, तिमिलो, कटमडो, अम्बा, मेवा, केरा, दालचिनी, साल, हर्राे, मेल, उतिस, अँजेरु, किरमडा, ऐंसेलु, ओलिसो, भ्यल, बर्राे, जामुन, गिठी, सिर्पा, रिठा आदि पाइन्छन् । यस क्षेत्रमा पाईने जंगली तथा पाल्तु जनावरहरू रतुवा, बँदेल, घोरल, खरायो, वनबिरालो, चितुवा, मलबोसो, ओद, छेपारो, सर्प, स्याल, बाँदर, लंगुर, ग्वाणो, सडो (दुम्सी), बिरालो, मुसा, छुचुन्द्रो, गाई, भैंसी, बाख्रा, घोडा, खच्चर आदि पाइन्छन् । गडानी खोला, ओजीगाड र च्युरीगाडमा माछा, भ्यागुता, गंगटो आदि जलिय जीवहरू पाइन्छन् । पंक्षीहरू काग, ढुकुर, कोइली, न्यउलो, सुगा, कालिज, च्याखुरा, तितरा, भंगेरा, कठफोरा, चमेरो, बाज, वनकुखुरा, चील, गिद्द, लाटोकोसेरो, लामपुछ्रे, कल्चौंडो, सिन्टोलो (डाङ्रे), कौकातो, गौथली, सिंङारी, घुक (हुबाग), गडमाल्ली, भेकुणो आदि प्रजातिका चराचुरुङ्गीहरू पाइन्छन् । औल्लेक क्षेत्र भित्र आर्य हिन्दुहरू बसोबास गर्दछन् । हाल यहाँ खस आर्यन हंशराज भट्टका सन्तान औल्लेकी धामीहरूको बाहुल्यता रहेको छ । अन्य जातिहरूमा अवस्थी ब्राह्मण, ओझा ब्राह्मण, खत्री, बोहरा, रावल, मडाल धामी र उक्त बाहेक लोहार, पार्की, ढोली थरका मानिसहरू बसोबास गर्दछन् । यस क्षेत्रमा हिन्दु संस्कृति अनुसार विभिन्न चाडपर्वहरू धुमधामपूर्वक मनाइन्छन् । यस्ता चाडपर्वहरूमा बिषु तिहार, रक्षा बन्धन (जनै पूर्णिमा), ओल्के संक्रान्ती, नाग पञ्चमी, हरेलो चढाउने, कृष्ण जन्माष्टमी, गौरा पर्व, खेडी, धोडी, लमधोडी, तीज पर्व, ऋषि पञ्चमी, सोह्र श्राद्ध, न्वाकी चढाउने, दशैं (नवरात्री), बुढी पोल्ने, तिहार (दिपावली), जौलजिबी मेला, पौष पन्ध्रकी रात, माघे संक्रान्ति, श्रीपञ्चमी, महा शिवरात्री, होली पर्व, राम नवमी, चैतको भेटौलो आदि चाडपर्वहरू मनाइन्छन् ।
औल्लेक क्षेत्र भित्र विभिन्न बालीनालीहरूको उत्पादन हुने गर्दछ । यस क्षेत्रमा पर्याप्त मात्रामा भटमासको उब्जनी हुने गर्दछ । अन्य बाली तथा दलहनहरूमा धान, मकै, गहूँ, कोदो, जौं, मसुर, सोट्टा, गहत, मास, कागुन, आलस, सरसों, तोरी, गुरौंस, केराउ, सिमी आदि उत्पादन हुने गर्दछन् । यस हुनैनाथ औल्लेकमा विभिन्न सामाजिक, धार्मिक परम्परा र संस्कारहरू रहेका छन् । बाह्रौं शताब्दितिर मोहम्मद गोरीको गंगाको मैदानी भागमा आक्रमण हुँदा सो स्थान छोडेर नेपाल प्रवेश गरेका वैदिक हिन्दुहरूले खसहरूलाई आफ्नो प्रभावमा पारेको पाइन्छ । फलस्वरुप खस जातिले मठ मन्दिरमा हिन्दु देवीदेवताको मुर्ति स्थापना गरेर वैदिक हिन्दु पुजारीहरूद्वारा पूजापाठ गर्ने चलनको सुरुवात गरेका हुन । करीब बाह्रौ तेह्रौं शताब्दितिर गडवाल कत्यूरबाट आप्रवासी आर्यनहिन्दुहरू हाल यस क्षेत्रमा बसोबास गर्दछन् । धार्मिक परम्परा अनुसार यिनीहरू शिव, विष्णु, गणेश, राम, कृष्ण, ब्रह्मा, भगवती, गौरी, लक्ष्मी, सरस्वती, दुर्गा, हुनैनाथ, बालिचन, मालिकार्जुन, सुन्शिखर, भागाश्री लगायतका देवीदेवताको पूजापाठ गर्ने गर्दछन् । विभिन्न देवी देवताको जप ध्यानगरी पूजापाठ गर्नाले आत्म शुद्धीहुने, देवी देवता र पितृहरू खुसीभएर सुःख समृद्धीहुने, परिवारमा सुख शान्ति हुने, निःसन्तानलाई सन्तान प्राप्तहुने जनविश्वास रहेको छ ।

यस क्षेत्रमा गरिने विभिन्न संस्कारहरूमा जातकर्म, षष्ठी खेलाउने, नामाकरण, अन्नप्रासन (पासनी), कर्णवेध, चुडाकर्म, वेदारम्भ (अक्षराम्भ), व्रतवन्ध (उपनयन), विवाह, मृत्यु संस्कार, श्राद्ध लगायतका संस्कारहरू गच्छेअनुसार मनाइन्छन् । त्यसैगरि अन्य चाडपर्वहरू … । यसैगरी हुनैनाथ औल्लेक क्षेत्र भित्रका भाषाभाषी र भेष–भूषाहरू पनि उल्लेखगर्नु सान्दर्भिक हुन्छ । यस क्षेत्रमा बोलिने प्रमुख स्थानीय भाषा डोटेली नै हो । जसलाई दार्चुलेली भाषा पनि भनिन्छ । यो भाषालाई सुदूरपश्चिमका प्रायः सबै क्षेत्र र कर्णाली प्रदेश तथा भारतको कुमाऊँ क्षेत्रसम्मका मानिसहरू सबैले बुझ्दछन् । धेरै जसो ठाउँमा यो भाषाको मिश्रित भाषा बोलिन्छ पनि । यस भाषालाई कोमल, कर्णप्रिय सरल र पुरानो भाषाकोरुपमा लिइन्छ । यस बाहेक सरकारी कामकाजको राष्ट्रभाषा नेपाली पनि सबैले बुझ्दछन् र कतिपयले बोल्ने गर्दछन् । भेषभूषामा पुरुषहरूले कमिज, पाइन्ट, कोट, सुरुवाल, गन्जी, कच्छा (कट्टु), भादगाउँले टोपी, ढाका टोपी, वनियान, भेस्ट, इष्टकोट, जोहारीकोट, सफारी सुट, जाकेट आदि लगाउने गर्दछन् । महिलाहरूले विवाहपूर्व कुर्ता, सुरुवाल, लेगी, कमिज, पाइन्ट, भेस्ट, स्वीटर, आउटर, दुपट्टा (चुन्नी) आदि लगाउने गर्दछन् भने विवाह पश्चात साडी, ब्लाउज, धोती, पेटीकोट, लुङ्गी, मुणेठो, फरिया, चौवन्दी चोली, आङडो, भोटो, पछ्यौरा, कुर्ति, सुरुवाल, मेक्सी तथा उमेर पुगेका बुढापाका महिलाहरूले घाँग्रो लगाउने गर्दछन् । साथै कम्मरमा सेतो पटुकी बाध्ने गर्दछन ।

महिलाहरूले लगाउने परम्परागत घाँग्रोको बारेमा थोरै जानकारी गराउन चाहे । यो महिलाहरूले साडीको बदलामा लगाउने छिट वा कटनद्वारा निर्मित बुट्टेदार ८–१० मीटरको फराकिलो रानाथारुहरूको पोशाकसंग मिल्दोजुल्दो पोशाक हो । परम्परागत यो पोशाकको आफ्नै महत्त्व रहेको छ । चौवन्दी चोली र घाँग्रो अति नै भलादमी पोशाक हो । अहिलेको आधुनिकतालेगर्दा यो पोशाक ओझेलमा पर्दै गएको छ । महिलाहरूको गरगहानाहरूमा गलोवन्द, रानीहार, तिलहरी, चौखट, सुता, चाँदीका रुपैयाँको हैकलमाला (चौअन्नी, अठअन्नी वा भिक्टोरिया रुपयाँको माला), नथ्थु (नथिया), मंगलसूत्र, मुनडा (मुन्द्री), बुलाकी, पैंडा (चाँदीबाट निर्मित खुट्टामा लगाउने), पायल, पौंजी, कण्ठाश्री, चन्द्रहार–झुमझुमी, चरेवापोते, मुगाको माला, चाँदीको बाला आदि गहनाहरू लगाउने गर्दछन् । खानाका परिकारहरूमा सेलरोटी, लाउन, पुरी, डुब्केभात, खजुरा (राजर्षि खाना), माणा, बाडी, कसार, पुतौकार पिनजरी (धुलो), मैरी, खिचडी, जाउलो, छाँई बटुक, गुन्द्रुक, बाबर, बटुक, खीर, दाल,भात, तरकारी, डुब्का, हलुवा, सैय्या, रोटी, फुल्क्या रोटी, घिउ केला, घिउ गुड, तरकारी, छाँई हालेको साग, दूध, धिनाली (दही), छाँई, गाल्यूँ, घिउ, नौनी, राइतो, घारो, फाणो, रोट (भटमास, मास, सोट्टाको मस्युटो हालेर बनाईएको), पलेउ, कुरौनी, झँज्या रोटी आदि खानाका परिकारहरू खाने गर्दछन् । परम्परागत आभूषण, पोशाक, खानपानमा समय सान्दर्भिक परिवर्तन हुँदै गएको देखिन्छ ।
हुनैनाथ स्वामीले हामी सबैको कल्याण गरून् । जय हुनैनाथ स्वामी ! धन्यवाद ! अस्तु !!
मान सिंह धामी (औल्लेकी)
उप–प्राध्यापक कैलाली बहुमुखी क्याम्पस, धनगढी
स्थायी ठेगाना : मालिकार्जुन गाउँपालिका हुनैनाथ –४
गोठ्युडी (कोटबुङ्गा), दार्चुला

Leave A Reply

Your email address will not be published.