एनपीएलमा लुम्बिनीको विजयी सुरुवात
धनगढी । नेपाल प्रिमियर लिग (एनपीएल) मा लुम्बिनी लायन्सले विजयी सुरुवात गरेको छ । बिहीबार बेलुका त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानमा सम्पन्न खेलमा लुम्बिनीले चितवन राइनोजलाई ६ विकेटले पराजित गर्दै आफ्नो विजयी यात्रा सुरु गरेको हो ।
एनपीएलको पाँचौ खेलमा टस हारेर पहिले व्याटिङको निम्तो पाएको चितवन राइनोजले निर्धारित समयमा ७ विकेट गुमाएर १ सय ४२ रन बनाएको थियो । १सय ४३ रनको लक्ष्य पछ्याएको लुम्बिनीले ९ बल बाँकी छँद जित हात पारेको हो । चितवनसँगको रोमाञ्चक खेलमा लुम्बिनीका गुलबदीन नाइबले अविजित रहँदै ४४ रनको उत्कृष्ट पारि खेले । उनले २४ बलमा ३ छक्का र ३ चौका प्रहार गरेका थिए ।
यस्तै, लुम्बिनीको जितमा कप्तान रोहित कुमार पौडेलले ३९ रनको योगदान गर्दा ओपनर सुन्दीप जोराले २८ रन बनाए । लुम्बिनी विरुद्ध रक्षात्मक बनेको चितवन राइनोजका लागि युवा बलर रिजन ढकालले ३ ओभर बलिङ गर्दै १७ रन खर्चेर ३ विकेट लिए भने शोहिल तनविरले १ विकेट लिए ।
टस हारेर पहिला ब्याटिङको निम्तो पाएको चितवन राइनोजका लागि इङग्लिस खेलाडी रवीन्द्र सिंह बोपराले सर्वाधिक ६६ रनको योगदान गरेका थिए । उनले ५५ बल खेल्दै ३ छक्का र ४ चौका प्रहार गरेका थिए । यस्तै चितवनका लागि कप्तान कुशल मल्लले २१ रन, शैफ जैबले १५ र देव खनालले १४ र दीपक बोहराले १० रन बनाएका थिए ।
चितवनविरुद्ध लुम्बिनीका रुविन ट्रम्पलमेनले सर्वाधिक ३ विकेट लिए भने अविशेष गौतम र गुल्बदीन नैबले समान २२ विकेट लिएका थिए ।
‘कुनै पनि प्रतियोगिता सूरु गर्दा त्यो प्रतियोगिता जितबाट सुरु गर्दा एकदमै राम्रो हुन्छ । आजको खेल निकै महत्वपूर्ण थियो,’ जितपछि पत्रकारहरुसँग कुरा गर्दै कप्तान रोहित कुमार पौडेलले भने,‘समग्रमा टिम इर्फोट थियो ।’
दुई खेल खेलेको चितवनको यो पहिलो हार हो भने लुम्बिनीले पहिलो खेलबाटै २ अंक जोड्न सफल भएको छ । शुक्रबार (भोलि) ४ बजे एनपीएलमा सुदुरपश्चिम रोयल्स र पोखरा एभेन्जसबीचको खेल हुनेछ ।