केएमसी क्रिकेटः स्ववियुलाई ६० रनले हराउँदै प्राध्यापकहरूको सानदार जीत

धनगढी। कैलाली बहुमुखी क्याम्पसमा स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) र प्राध्यापकहरूबीच सम्पन्न मैत्रीपूर्ण क्रिकेट प्रतियोगितामा प्राध्यापकहरूको टोलीले स्ववियुलाई ६० रनले पराजित गर्दै सानदार जीत हात पारेको छ।

टस जितेर पहिले ब्याटिङ गरेको प्राध्यापकहरूको टोलीले निर्धारित १२ ओभरमा २ विकेटको क्षतिमा १३७ रन बनाउँदै स्ववियुलाई चुनौतीपूर्ण लक्ष्य दिएको थियो। प्राध्यापकहरूका लागि क्याप्टेन दिलबहादुर बोहराले उत्कृष्ट ब्याटिङ गर्दै सर्वाधिक ६९ रन बनाए। विवेक जोशीले २१ रनको योगदान दिए भने टोपराज ढुंगानाले ८ रन जोडे। पुस्कर पन्त र सन्तोषराज पाण्डेले समान ७–७ रन बनाए।

बलिङतर्फ नरेन्द्र शाहले ह्याट्रिकसहित ५ विकेट लिँदै उत्कृष्ट प्रदर्शन गरे। उमेश विष्टले २ विकेट लिँदा दिपक ध्याडीले १ विकेट हात पारे।

१३८ रनको लक्ष्य पछ्याएको स्ववियुको टोली १० ओभरमै अलआउट हुँदै ७७ रनमै सीमित रह्यो। स्ववियुका तर्फबाट उपाध्यक्ष कमल ऐडीले सर्वाधिक २१ रन बनाए भने क्याप्टेन तथा स्ववियु अध्यक्ष सन्तोष पन्तले १४ रन जोडे। बलिङतर्फ सन्तोष पन्तले १ विकेट लिन सफल भए।

यस जीतसँगै प्राध्यापकहरूको टोलीले प्रतियोगितामा प्रभावशाली प्रदर्शन गर्दै खेलप्रेमी दर्शकको प्रशंसा बटुलेको छ। क्याम्पसको ४५ औँ वार्षिकोत्सवको अवसरमा शुक्रबार उक्त खेल आयोजना गरिएको हो।

Leave A Reply

Your email address will not be published.