धनगढी । सुदूरपश्चिमका निर्माण व्यवसायी पनि आन्दोलित भएका छन्। निर्माण सामग्रीको अत्यधिक मूल्य वृद्धि भएको भन्दै निर्माण व्यवसायी महासंघको रुलिङअनुसार सुदूरपश्चिमका निर्माण व्यवसायी पनि आन्दोलित भएका हुन् ।
अहिलेकै अवस्थामा निर्माण कार्य अघि बढाउन नसकिने भएकाले ‘कन्स्ट्रक्शन होलिडे’ आह्वान गरिएको निर्माण ब्यवसायीले बताएका छन् । आज निर्माण व्यवसायीहरुले कैलाली प्रशासन कार्यालय अगाडि धर्ना दिएका छन्।
आन्दोलन कार्यक्रम अन्र्तगत ७७ जिल्ला संघहरुले आ–आफ्नो जिल्लामा रहेका जिल्ला प्रशासन कार्यालयमा र सातवटै प्रदेश महासंघहरुले आ–आफ्ना प्रदेशमा रहेका प्रदेश मुख्यमन्त्रीको कार्यालयमा धर्ना दिएका हुन् ।
महासंघले पेट्रोल, डिजेल, फलामको छड, सिमेन्ट बिटुमिन लगायतका निर्माण सामग्रीको मूल्य वृद्धि भएकोले काम गर्न समस्या भएको जनाएको छ । पूरानो मूल्यअनुसार ठेक्का सम्झौता भएको तर अहिले अत्यधिक मूल्य वृद्धिका कारण काम गर्न मुस्किल भएको जनाउँदै महासंघले ‘कन्स्ट्रक्सन होलिडे’ घोषणा गर्न माग गरेको छ।
निर्माण व्यवसायी महासंघ सुदूरपश्चिम प्रदेश उपाध्यक्ष प्रकाश सेठीले सार्वजनिक खरिद ऐनको ११औं संशोधनका केही प्रावधान र बीमा निर्देशिका २०७८ निर्माण व्यवसायी मैत्री नभएकोले आन्दोलन गर्न परेको बताउनु भयो ।