धनगढी, । कैलाली बहुमुखी क्याम्पसमा स्वतन्त्र विद्यार्थी युनियनको आयोजनामा शुक्रबार महिलाहरूको महान् पर्व हरितालिका तिजको अवसरमा दर खाने कार्यक्रम सम्पन्न भएको छ।
क्याम्पसको ‘ए’ ब्लकमा आयोजित कार्यक्रममा कैलाली बहुमुखी क्याम्पसका विद्यार्थी, प्राध्यापक तथा आसपासका महिलाहरूको उत्साहजनक सहभागिता रहेको थियो। कार्यक्रममा सहभागी महिलाहरूले स्थानीय परिकार खिरसहित दर ग्रहण गर्दै नाचगानमार्फत तिजको उल्लास साटासाट गरेका थिए।
स्वतन्त्र विद्यार्थी युनियनका कार्यवाहक अध्यक्ष कमल कुमार ऐडीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा सुदूरपश्चिम प्रदेश सभा सदस्य रक्षा महरा प्रमुख अतिथि रहनुभएको थियो भने कैलाली बहुमुखी क्याम्पसका क्याम्पस प्रमुख लोकबहादुर बिष्ट विशिष्ट अतिथिका रूपमा उपस्थित रहनुभएको थियो। कार्यक्रममा क्याम्पसका प्राध्यापक तथा उपप्राध्यापकहरूको समेत सहभागिता रहेको थियो।
कार्यक्रमको उद्घाटन प्रमुख अतिथि रक्षा महरालाई सभाध्यक्ष कमल कुमार ऐडी र विशिष्ट अतिथि लोकबहादुर बिष्टले खिर खुवाएर गर्नुभएको थियो।
कार्यक्रमलाई सम्बोधन गर्दै वक्ताहरूले तिजजस्ता मौलिक सांस्कृतिक पर्वले समाजमा आपसी सद्भाव, एकता तथा सामाजिक सम्बन्धलाई अझ मजबुत बनाउने बताएका थिए। आयोजक स्वतन्त्र विद्यार्थी युनियनले यस्ता मौलिक तथा सांस्कृतिक कार्यक्रमले क्याम्पसका महिला तथा विद्यार्थीबीच आत्मीयता बढाउनुका साथै नेपाली कला, संस्कृति र परम्पराको संरक्षणमा समेत महत्वपूर्ण योगदान पुग्ने जनाएको छ।
यस्तै कार्यक्रमहरूले विद्यार्थीहरूको प्रतिभा प्रस्फुटन गर्न सहयोग पुग्ने भएकाले आगामी दिनमा पनि यस्ता गतिविधिलाई निरन्तरता दिइने आयोजकले जनाएको छ।
दौलत विक्रम साउद, रेडियो केएमसी र अनलाईनमा समाचार सम्वाददाता हुनुहुन्छ । उहाँ कैलाली बहुमुखी क्याम्पसमा आमसञ्चार तथा पत्रकारिता स्नातक तहमा अध्ययनरत हुनुहुन्छ ।