धनगढी – सरकारले भोलि मङ्गलवार सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।
आज साेमवार सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकले दुई दिने भ्रमणका लागि नेपाल आउन लागेका कतारी राजा शेख तमिम बिन हमाद अल थानीको सम्मानमा भोलि सार्वजनिक बिदा दिने निर्णय गरेको सरकारकी प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले जानकारी दिनुभयो ।
विदेशी राष्ट्र प्रमुखको नेपाल भ्रमण हुँदा सार्वजनिक बिदा दिने यसअघिको अभ्यासअनुसार नै कतारको राष्ट्र प्रमुखसमेत रहेका अमिर अर्थात् राजा शेख तमिम बिन हमाद अल थानीको भ्रमणमा बिदा दिने निर्णय भएको मन्त्री शर्माले बताउनुभयो ।
राष्ट्रपति रामचन्द्र पौडेलको निमन्त्रणामा कतारका राजाको भ्रमण हुन लागेको हो । यो कतारी राजाको पहिलो नेपाल भ्रमण पनि हो । कतारी राजासँगै मन्त्रीहरू पनि नेपाल भ्रमणमा आउँदैछन् ।
कतारका राजाले भोलि नै राष्ट्रपति पौडेलसँग शीतल निवासमा भेटवार्ता गर्नुहुने परराष्ट्र मन्त्रालयले जनाएको छ । उहाँले पर्सि बुधवार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग द्विपक्षीय वार्ता गरी केही सम्झौता र समझदारीमा हस्ताक्षर गर्ने कार्यक्रम छ । कतारका राज पर्सि बेलुका नै कतार फर्कनु हुनेछ ।