धनगढी। हुन त नेपालमा ग्यास्ट्रिककाे समस्या नभएकाे मानिस कमै हाेलान । म स्वास्थ विज्ञानकाे विद्यार्थी भएकाे नाताले पनि थाेरै मेराे जानकारीअनुसार ग्यास्ट्रिककाे बारेमा चर्चा गर्न गइरहेको छु ।
Gastric अंग्रेजी शब्द हाे । यसकाे नेपाली अनुवाद अम्लपित्त हुन्छ । ग्यास्ट्रिक आफैमा राेग हाेइन । याे आमाशयकाे भित्ताबाट पैदा हुने एक किसिमकाे रस (तरल पदार्थ ) हाे । जुन Gastric glands ले पैदा गर्दछ । चिकित्सकीय भाषामा यसलाई ग्यास्ट्राइटिस (Gastritis) भनिन्छ । तर हामी सहि उच्चारण गर्न नसकेर ग्यास्ट्रिक भयाे भन्छाैं । भोको पेटमा ग्यास्ट्रिक बढ्यो भनिन्छ ।
धेरै समय खाली पेट बस्दा एसिड उत्पादन पनि बढी हुन्छ । त्यस्तो बेला ग्यास्ट्रिकका लक्षणहरू समेत धेरै देखिन्छन् । लामो समय भोको पेट बस्यो भने ग्यास्ट्राइटिसका लक्षणहरू देखिन्छन् । त्यसैले धेरै खाना एकैचोटि नखाने, बरू बिस्तारै खाने गर्नुपर्छ । ग्यास्ट्रिक हुनेले व्रत गर्ने कि नगर्ने भन्ने हुन्छ । एकैचोटि लामो समय नखाँदा पेटमा जुन नियमित पाचन प्रक्रिया हुनुपर्थ्यो, त्यो हुन सक्दैन । अनि एकैचोटि खाँदा एसिडको उत्पादन पनि बढ्छ । त्यसैले लक्षणहरू पनि बढ्ने हुन्छन् ।
सकेसम्म लामो समय खाली राखेर खाना खानु हुँदैन । सकेसम्म ३-४ घन्टाको समयमा खाएको राम्रो हो भनेर चिकित्सकले पनि भन्ने गरेका छन् । राती सुत्ने भएकाले सकेसम्म बिहानको समयमा चाँडै खानुपर्छ । यसले नियमित हुने पाचन प्रणालीलाई हानी हुन दिदैन ।
ग्यास्ट्रिकका कारणहरू :
१. फास्टफुड
आजभोलि बालबालिकामा समेत ग्यास्ट्रिकको समस्या देखिन्छ । बर्गर, पिज्जा, स्यान्डविचजस्ता खाद्यपदार्थको बढी प्रयोगले बच्चाको पाचन प्रणालीमा असर पर्न जान्छ । जसकारण उसले खाना राम्रोसँग पचाउन सक्दैन ।
पाचन प्रणालीले राम्रोसँग काम नगर्दा पेटसमेत राम्रोसँग सफा हुन पाउँदैन र बिस्तारै ग्यास बढ्न थाल्छ । यदि तपाईं पनि फास्टफुडको सौखिन हुनुहुन्छ भने यस्तो बानी हटाउँदा राम्रो हुन्छ ।
२. मांसाहारी खाना
यदि तपाईं ग्यास्ट्रिकको समस्याले ग्रसित हुनुहुन्छ भने ननभेज प्रयोगलाई छोड्दा राम्रो हुन्छ । किनभने, मांसाहारी खाना पचाउन शरीरलाई लामो समय लाग्छ । तर, शाकाहारी खाना भने छोटो समयमा सजिलै पचाउन सक्छ । अझ रातको समयमा त ननभेज खानाबाट जतिसक्दो बच्नुपर्छ । खाइहालेमा निकै कम मात्र प्रयोग गर्नुपर्छ ।
३. हर्मोनमा परिवर्तन
महिलाको महिनावारी सुकेपछि र पुरुषमा ५० वर्षपछि हर्मोनमा परिवर्तन आउन थाल्छ । जसको असर पाचन प्रणालीमा पर्न पुग्छ । त्यसैले, जति उमेर बढ्दै गयो, त्यति नै सन्तुलित भोजनमा जोड दिनुपर्ने हुन्छ । यद्यपि, सन्तुलित भोजनको आवश्यकता जीवनमा सधैँ हुन्छ ।
जुन खानाले पाचन प्रणालीमा असर पारेको अनुमान गर्नुहुन्छ, त्यस्ता खानाको प्रयोगमा बन्देज लगाउनुपर्छ । सन्तुलित खानासँगै दैनिक कम्तीमा ३० मिनेट व्यायाम पनि गर्नुपर्छ । यसको सुरुवात जगिङबाट पनि गर्न सक्नुहुन्छ ।
४. फुड एलर्जी
कमजोर पाचन शक्ति भएका मानिसले मैदाबाट बनेको खाद्यपदार्थ खानु निकै घातक हुन्छ । ब्रेड, पिज्जाजस्ता खाद्यपदार्थले पाचन प्रक्रियामा असर पार्छ, जुन ग्यास्ट्रिकको कारण बन्छ । त्यसैले मैदाबाट बनेका खानेकुरा, जंकफुड, रेस्टुरेन्ट आइटमबाट बच्न आवश्यक हुन्छ । यस्ता खाद्यपदार्थले फुड एलर्जी पनि बनाउँछ । यसो गरेमा ग्यास्ट्रिकलाई धेरै मात्रामा नियन्त्रणमा राख्न सकिन्छ ।
५. एन्टिबायोटिक्स
कुनै पनि एन्टिबायोटिकको साइड इफेक्टका कारण पेटमा स्वस्थ ब्याक्टेरियाको कमी हुन जान्छ । जसले पाचन प्रक्रियालाई समेत बिगार्छ र पेटमा ग्यास बन्न सुरु हुन्छ । यदि एन्टिबायोटिक लिएपछि ग्यासको समस्या आएमा डाक्टरको सल्लाहअनुसार ग्यास्ट्रो रेजिस्टेन्ट औषधि प्रयोग गर्नु राम्रो हुन्छ ।
६. खाना खाने तरिका
अहिले मानिससँग निकै कम समय छ । यतिसम्म कि कतिलाई त खाना खाने फुर्सदसमेत छैन । यस्तो गतिविधिले लाइफस्टाइलमा असर पर्न जान्छ । कतिले छोटो समयमा छिटोछिटो खाने गर्छन् । छिटो खाँदा नचपाई खाने समस्या पनि हुन्छ, जुन ग्यास्ट्रिकको कारण बन्न सक्छ । त्यसैले खाना जहिले पनि राम्रोसँग चपाएर खाने बानीको विकास गर्नुपर्छ । यसो गर्दा खाना पच्न पनि सहज हुन्छ ।
७. ब्याक्टेरिया
पेटमा स्वस्थ र अस्वस्थ ब्याक्टेरिया हुन्छन् । यस्ता ब्याक्टेरियाको ब्यालेन्स नमिल्दा पनि ग्यास्ट्रिकको समस्या उत्पन्न हुन्छ । कुनै बिमारको साइड इफेक्टले पनि यस्तो हुन सक्छ । यसका साथै लसुन, प्याजजस्ता तरकारीलाई सही तरिकाले प्रयोग नगर्दा पनि ब्याक्टेरियाको ब्यालेन्स बिग्रन सक्छ । यदि ग्यास्ट्रिकको समस्याबाट बच्न चाहनुहन्छ भने यस्ता खाद्यपदार्थलाई सचेततापूर्वक सन्तुलित तरिकाले प्रयोग गर्न आवश्यक छ ।
९. डेरी प्रडक्ट
बढ्दो उमेरसँगै मानिसको पाचन शक्ति पनि कमजोर बन्दै जान्छ । जसले गर्दा दूध र दूधजन्य पदार्थ (दहीबाहेक) राम्रोसँग पच्न सक्दैन । त्यसैले ४५ वर्षभन्दा बढी उमेरका मानिसले यस्तो खाद्यपदार्थको प्रयोग गर्दा बढी मात्रामा दही मिक्स गर्न जरुरी हुन्छ । अरु डेरी प्रडक्ट कम मात्रामा प्रयोग गर्दा पेटका लागि फाइदाजनक हुन्छ ।
१०. कब्जियत
आजभोलि कब्जियतको समस्याबाट धेरै मानिस ग्रसित छन् । कब्जियतको समस्याले शरीरमा भएको टक्सिन्स बाहिर आउन सक्दैन । जसको कारण पेटमा ग्यास बन्न थाल्छ । यसबाट बच्न दिनमा कम्तीमा ८ देखि १० गिलास पानी पिउनु आवश्यक हुन्छ ।
ग्यास्ट्राइटिसका लक्षणः
- पेट फुल्ने
- खाना खाएपछि पेट ढुस्स हुने
- पेट पोल्ने
- पेटको माथिल्लो भाग दुख्ने
- असहज हुने अनि हुलुक-हुलुक आउने
- वान्ता हुने
- ढ्याउ ढ्याउ हुने
सामान्य ग्यास्ट्राइटिसमा यस्ता लक्षण देखिए पनि अल्सर भइसकेको रहेछ भने कालो दिसा हुने, मुखबाट रगत जाने, वान्ता धेरै हुने लगायत लक्षण देखिन्छन्। त्यस्तै परिवारमा कसैलाई आन्द्राको क्यान्सर भएको थियो भने तुरून्तै अस्पतालम गएर परीक्षण गर्नुपर्दछ ।
राेकथाम तथा नियन्त्रण :
- जीवनशैली परिवर्तन गर्ने
- लामो समय खाली पेट नबस्ने
- नियमित खाना खाने, थोरै खाने,
- समयमा खाने, दुई–तीन घन्टाको
- फरकमा खानेकुरा खाने
- धूम्रपान तथा मद्यपान नगर्ने
- सागसब्जी, फलफूल प्रशस्त मात्रामा खाने
- प्रशस्त पानी पिउने
- धेरै चिल्लो, अमिलो, पिरो खानेकुरा नखाने
- धेरै तनाव नलिने
- नियमित व्यायाम गर्ने
- जथाभावी दुखाइ कम गर्ने औषधि सेवन नगर्ने
- थप समस्या परेमा चिकित्सकको सल्लाहमा औषधि उपचार गर्ने ।
- लसुनका पोटी खाने । जसले ग्यास्ट्रिक समस्यामा फाइदा गर्नुका साथै उच्च रक्तचापको जोखिमसमेत कम गर्छ ।
- पेटमा धेरै ग्यास भएका वेला कागती पानी पिउनु उपयुक्त हुन्छ । जसले ग्यास हटाउनुका साथै पेट फुल्नसमेत दिँदैन ।
मान सिंह धामी (भाैनबाटी)
उप- प्राध्यापक
कैलाली बहुमुखी क्याम्पस, धनगढी
आफ्ना लेख, रचना, तथा ब्लग प्रकाशन गर्न तलको रेडियो केएमसीको ई-मेलमा पठाउनुहोस, हामी प्राथमिकताका साथ प्रविष्ट गर्ने छौँ ।
E-mail: [email protected]