दम राेगका कारण, लक्षण र राेकथाम तथा नियन्त्रण 

धनगढी । दम (Asthma ) रोगभन्दा पनि रोगहरूको लक्षण हो । याे फाेक्साेमा लाग्ने राेग हाे । यो रोगमा श्वासनली वा वरिपरिको खण्ड सुन्निन्छ । यस कारणले फोक्सोमा हावा जान कठिनाइ हुन्छ । एलर्जी उत्पन्न गर्ने कारक तत्त्व र अप्ठयारो उत्पन्न गर्ने तत्त्व श्वास नलीको सम्पर्कमा आउँछन्, त्यसपछि सास फेर्न समस्या हुन थाल्नु नै दम हो ।
दम श्वासप्रश्वास सम्बन्धी दीर्घ रोग हो । जसले बालबालिकादेखि बृद्ध बृद्धासम्मलाई समान रुपमा असर गर्न सक्छ । सामान्यता यो रोग पुरुषको तुलनामा महिलामा बढी देखिन सक्छ । समयमै निदान र उपचार हुन नसकेको खण्डमा यसले सबै उमेर समूह र लिंगका मानिसलाई दीर्घ प्रभाव पार्न सक्छ । दमका कारण हुने अस्वस्थता र मृत्युदरलाई न्यूनीकरण गर्न समयमै निदान र प्रभावकारी उपचार विधि जरुरी हुन्छ।
दमका कारण :
दम लाग्नुको ठ्याक्कै कारण ‘मेडिकल साइन्स’ले पत्ता लगाउन सकेको छैन। तर, वंशाणुगत जोखिम र वातावरणीय प्रभावले यो रोग हुने सम्भावना बढी हुन्छ । सामान्यता परिवारका कुनै सदस्यलाई दम छ भने अरुलाई पनि देखिन सक्छ । साथै, वातावरणीय प्रदूषणलाई पनि दम हुने कारण मानिन्छ । धुवाँधुलो, व्यायाम र विभिन्न औषधि पनि दमका कारक हुन् ।यसैगरी धूमपान, वातावरणीय प्रदूषण र तनावले पनि दम बढाउँछ ।
दम राेगका लक्षण :
  • छिटछिटो सास फेर्नु
  • सास फेर्न असजिलो हुनु
  • खोकीले गर्दा निद्रामा अवरोध हुनु
  • बारम्बार खोकीको अनुभव हुनु
  • खोकी प्रायः राति लाग्नु
  • श्वासमा घ्यारघ्यार आवाज सुनिनु
  • श्वास फेर्दा सिटी बजेजस्तो हुनु
  • छातीमा पीडा अनुभव हुनु

 

दमका बिरामीलाई सास फेर्न अप्ठ्यारो महसुस हुनेगर्छ । साथै सास फेर्दा छातीबाट घ्यार–घ्यार आवाज आउँछ । सुरुसुरुको अवस्थामा यस्तो लक्षण हप्तामा वा दुई हप्तामा या महिना–दुई महिनामा एक पटक हुने गर्छ । तर, रोग जटिल हुँदै गएको खण्डमा दिनहुँ यस्तो समस्या आइपर्छ । धेरैजसो दमको समस्या राति वा बिहानीपख वा धुवाँधुलोको सम्पर्कमा आएको बेला देखिन्छ । त्यसका अलावा सामान्य रुघाखोकी भएको बेला वा भाइरल इन्फेक्सन भएको अवस्थामा पनि दम जटिल बन्दै जाने हुन्छ ।
 घ्यार–घ्यारजस्तै खोकी पनि दमको एउटा मुख्य लक्षण हो । लामो समयसम्म खोकिरहेमा दमको परीक्षण गराउन जरूरी छ । कसैकसैलाई भने दमको समस्या नभई खोकी मात्र लाग्ने पनि हुन्छ ।

 

दम राेगबाट बच्ने उपायहरू :
  •  जाडोमा हरेक समय न्यानो लुगा लगाउने
  • कोल्ड डि्ंक, आइस आदि नखाने
  • फ्रिजका खानेकुरा नखाने
  • बालबालिकालाई सिरक ओढाएर सुताउने
  • बिहानबेलुका घरबाहिर ननिस्कने
  • रुखा, खोकी वा सासको समस्या देखिए जँचाउने
  • धुलोबाट बच्ने, धुलीकण घातक हुन सक्छ
  • घरपालुवा जनावरबाट टाढा रहने
  • घरपालुवालाई सातैपिच्छे नुहाइदिने
  • एलर्जीको परीक्षण गराउने
  • धूमपान नगर्ने, भए ठाउँ नजाने
  • एयरटाइट गद्दा, बक्स स्पि्रङ र सिरान उपयोग नगर्ने
  • करेसाबारी वा पातको थुप्रोमा काम नगर्ने, नखेल्ने
  • दमको अटयाक हुनासाथ नहड्बडाउने
  • कुहिरो र हुस्सुमा नहिँड्ने
  • भीडभाड भएको ठाउँमा नजाने
  • राति हलुका खाना खाने
  • सुत्ने कोठामा हिटरको उपयोग नगर्ने
उपचरको लागि सबै भन्दा पहिले कुन् कुराले गर्दा एलर्जि भएको हो, त्यो थाहा पाएपछि रोग सधैको लागि निर्मुल् गर्न सकिन्छ ।
मान सिंह धामी (भाैनबाटी)
उप-प्राध्यापक
कैलाली बहुमुखी क्याम्पस, धनगढी
आफ्ना लेख, रचना, तथा ब्लग प्रकाशन गर्न तलको रेडियो केएमसीको ई-मेलमा पठाउनुहोस, हामी प्राथमिकताका साथ प्रविष्ट गर्ने छौँ ।

 

Leave A Reply

Your email address will not be published.